देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सत्ता–जमिनदारीको बोझ



एउटा मान्छेले दूत हुन नमान्दा
ह्वालह्वालती निस्क्यो जमेको फोहोर पानी
शक्तिको मस्तराम मान्छे जिल्लाराम भए
तर पूर्ण विराम होइन ।
दाम र नाम कमाएका
पद नामको बदनाम पनि
आशंका पार्टनरको रफ्फुचक्कर
त्यसैले पाक्नु अगाडि नै फसल काट्ने हतारो
१२ बज्नु अगाडिको एक झमट ११ हान्दा
एक तीरबाट दुई सिकार
तर –
दश दिशाबाट आयो दिनदशा
ग्रहगतिका दैनिक दशा
अष्टयोगिनीको कस्तो भोग यो ?
जति बनाए पनि नमिल्ने योग
भित्र मिलाए बाहिर फुस्किने
बाहिर कहिले नमिल्ने
बाहिर नबिगारीकन भित्र नमिल्ने पनि
हुन त यो खेल खेलेर नै प्रकट भएको
मुलुकको लागि होइन,
सत्ता–फसल खानको लागि
घरभित्र सधैं रूपान्तरणको हावा भर्नु पर्ने
बाहिर कुत बुझाएर मात्र खान पाइने
तुकबन्दीको सेरोफेरोबाट
सगर चुमेको मान्छे
बिक्न छोड्यो उखान टुक्का
कति हुक्का, कति सुक्का गर्ने अब
यो मौसमको लागि
उत्तरतः हुक्कापानी चलाउँदा
हक्क न बक्क; न यसो भयो न उसो
कर्कलो काट्न बन्चरो बोक्नुपर्ने भो
मंगलेको ढंग; कति पुग्यो, कति पुगेन
बुढेसकालको परिणति बिसाउन गाह्रो
अन्ततः के नै हुने र कहाँ पुग्ने ?
पटवारी जति बदले पनि
उठतीपुठतीको हिसाब भनेको जस्तो नहुने
तलकाले हेर्दा शिखर देखिए पनि
आफू केवल अवान्तर, अर्थात् मध्यवर्ती बनेको
आधिकारिक ‘सर्वोच्च बिचौलिया’
यो कमान्डरी राजनीतिको
मोर्चामा भिड्नु पर्ने
‘मार्सी भात’ खाएर, ‘चरी’को साथ लिएर
जनहरूलाई थर्काउनु पर्ने, अनि फकाउन पर्ने;
झुक्याउन पर्ने, आसमानमा पु¥याउनु पर्ने
सर्कसको डोरीमा हिँडेको देखाएर
तालीको गडगडाहटबीच
सत्ता–जमिनदारीको फसल
थुक नलगाएर खानुपर्ने
गाह्रो छ सत्ता जमिनदारीको बोझ बोक्न ।