देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

घाम डुबेको छैन



व्यक्ति र पार्टी एउटै
व्यक्तिबाट चल्ने
व्यक्तिको आदेश, परमादेश
भित्र – बाहिर
जनताको लागि लडेको
बिक्री गरिएको भाष्य
विश्वको सर्वोत्कृष्ट संविधानबाट
चुनाव जितेर आएको
हिटलरको स्वरूपको होइन
चाहेर न हुन सक्छु म ।

युद्ध गर्ने क्षमता छैन मेरो
हिजोको संघर्ष एकादेशको कुरा
बुद्ध बन्ने मेरो बाटो नै होइन
अरूलाई बुद्धु बनाएर खाँदै आएको
शान्ति, शान्ति, ‘शान्तिरेव शान्ति’
मेरो चाहना नै पार्टीको चाहना
पार्टीको चाहना नै मेरो
तब त्यो बन्छ सरकारको
यसको स्वीकृति
गडगडाहट वैधानिक तालीबाट
या आवाज, या मतबाट
कलाकृत बुलन्द मञ्चनबाट
मालिकको रिझबापत मह चाट्न पाउने
चाट्दा चाट्दै कहिलेकाहीँ महमा डुब्न लाग्दा
ज्यान बचाउन उर्लेको आवेग
परमादेशको संवेगभन्दा बलियो
पत्याउन नसकिने उथलपुथल
होइन, नसोचेको उलटपलट

ज्यान बाँचेपछि
चाहना सिर्फ गमन राफसाफको
अनि नयाँ लत्ता भत्ताको
लुटपाट आपत परिस्थितिको लागि
स्विस बैंक निक्षेप बढाउनको लागि
भर्जिन आइल्यान्डको ओसारपसार
सुमार्गी कुमार्गीको आइजाइ
शुद्धीकरणको अपार व्यापार
रूपान्तरणको हावामा
खावा खाएको समीकरणमा
बाँकी सबै सिलसिलेवार तपसिल
हो, मात्र सिरान पुछार
जुलुंगो हल्लिरहेको फिल फिल

सपनाको स्पर्श
बत्तीको पुतलीको जस्तो
जलेर नामोनिसान छैन
यीभन्दा धेरै चेतनशील
रोबट भएको छ अहिले यहाँ

को हो त्यो व्यक्ति ?
मासियाको बारेमा प्रश्न गर्ने
यस्तो अधिकार छैन यहाँ
इतिहासका मण्डन मिश्र, महापण्डित !
उसका पिँजडाका पट्टुहरू
शास्त्र भट्ट्याई रहेका
अहिलेको यस्तै पट्टुले सोध्यो– को हो त्यो व्यक्ति भनेर ?
नेपथ्यबाट उत्तर आयो
त्यो जो सर्वाधिक कलुषित छ
मैले देखे त्यसको प्रतिबिम्ब
म आफैँ रहेछु
तर के ?
सबभन्दा विभूषित म नै छु ।
मेरो नियति, देशको नियति

कति तमान्ना छ, कति आरजु
किन व्यवधान मैले चरेको कुरामा ?
कसले कति चरे मैले कहिले सोधिन
जसरी अरूले चरे मैले पनि चरे
यत्रो होहल्ला किन ?
अरूले चरेर केही पनि दिएनन्
मैले त जति चरे केही दूध दिएको छु

विषको ओखती बत्सनाभ
उजुरी नाटक हो, जिउ हजुरी
खाने पचाउने हो मिठो खजुरी
कति कमाउनु छ, कति खानु छ अझ
घाम जतिसुकै डाँडामाथि पुगोस्
डुबेको त छैन नि ।