देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाली काँग्रेसको पेशागत तथा बुद्धिजीवी विभागले बिपी जयन्तीमा विचार गोष्ठी आयोजना गर्ने

देशान्तर


काठमाडौँ । नेपाली काँग्रेसको पेशागत तथा बुद्धिजीवी विभागले नेपालका प्रथम जननिर्वाचित प्रधानमंत्री तथा कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको स्मृतिमा १११ औं बीपी जन्म जयन्ती भव्यताका साथ मनाउने निर्णय गरेको छ।
विभागकी संयोजक डा. डिला सङ्ग्रौला पन्तको अध्यक्षतामा सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

बैठकले यही भदौ २५ गते “बिपीको समाजवाद र बुद्धिजीवीको भूमिका” विषयमा विचार गोष्ठी आयोजना गर्ने निर्णय गरेको छ। यस अवसरमा बिपी कोइरालाका विचारहरूको वर्तमान सन्दर्भमा महत्त्व र सान्दर्भिकताबारे चर्चा गरिने छ। डा. सङ्ग्रौलाले यो विचार गोष्ठीलाई बिपीको सोच र सिद्धान्तको पुनरावलोकनको अवसरको रूपमा लिइने बताइन्। साथै विभागले आउँदो असोज ३ गते संविधान दिवसको अवसरमा विशेष अन्तरक्रिया गर्ने निर्णय पनि गरेकाे छ।

यसका अतिरिक्त विभागले वार्षिक रूपमा सञ्चालन गर्ने विविध कार्यक्रम र कार्य तालिका तयार गर्ने निर्णय पनि गरेको छ।
विभागमा मनोनयन गत साता कांग्रेस सभापति शेर बहादुर देउवाले विभागमा १० जना सदस्यहरु मनोनयन गरे पछि विभागको पहिलो बैठक बसेको थियो।

विभागका सदस्यहरुमा डा. लोकनाथ दुलाल (ललितपुर), अधिवक्ता डा. विष्णु बस्याल (पाल्पा), डा. तवस्सुम सिद्दिकी (बाँके), अधिवक्ता देवराज अवस्थी (कैलाली), विपद् व्यवस्थापन विज्ञ मन बहादुर थापा (चितवन), इ. दीलिप कुमार झा (सप्तरी) इ. मनोज घिमिरे (मोरङ), प्रा गणेश शाही (दैलेख), प्रा डम्बर बहादुर विक (पर्वत) तथा विजय सम्बाहाम्फे (तेह्रथुम) रहेका छन्।
कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व सांसद डा. डिला संग्रौला पन्तलाई गत साउन २१ गते विभागीय प्रमुखको जिम्मेवारी दिइएको थियो।

कुल ४९ सदस्य रहने विभागमा बाँकी सदस्य पछि मनोनयन गरिने विभागीय प्रमुख संग्रौलाले बताइन् । विभागले गत भदौ ६ गते समाजवादी चिन्तक स्व. प्रदिप गिरीको स्मृतिमा प्रथम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।