काठमाडौं । गत मंगलबार प्रतिनिधिसभाको बैठकबाट सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन समितिको म्याद थपको प्रस्ताव संसद्बाट सर्वसम्मतिले पारित हुँदै गर्दा संसदीय विशेष समिति र कास्की प्रहरीलाई बयान दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेट गरी गुहार मागेका छन् । पछिल्लो समय त्राहिममा बनेका लामिछानेले एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवासँग छुट्टाछुट्टै भेटेर सहकारी ठगी प्रकरणमा गुहार मागेका हुन् ।
सहकारीको रकम ठगी गरेको आरोप लागेका लामिछानले भदौ ७ गते संसदीय विशेष समितिमा पुगेर नौ घण्टा बयान दिएका थिए । त्यसको तीन दिनपछि कास्की प्रहरीले काठमाडौंमै आएर लामिछानेसँग बयान लिएको थिया े। समिति र प्रहरी दुवैमा बयान दिएपछि लामिछानेले ओली र देउवालाई भेटेर आफ्ना कुरा राखेर गुहार मागेका हुन् ।
१५ जेठमा गठन भएको उक्त संसदीय समितिको पहिलो बैठक २२ जेठमा बसेको थियो । पहिले समितिको अवधि ३ महिना तोकिएकाले २२ भदौमा समय सकिँदै थियो । यस अवधिसम्म समितिले सहकारी ठगीमा मुछिएका र नाम जोडिएका दर्जनौंको बयान लिइसकेको छ ।
सहकारीमा सर्वसाधारणको बचत अपचलनबारे छानबिनका लागि गठन भएको संसदीय समितिले विभिन्न सहकारीबाट गोर्खा मिडियामा गएको बचत अपचलन भनिएको घटनामा पूर्वगृहमन्त्री रवि लामिछानेको संलग्नता रहे वा नरहेको बारे प्राप्त प्रमाणहरूको विश्लेषण भइरहेको जनाएको छ ।
लामिछानेविरुद्ध २०८० माघ २२ गते कास्की प्रहरीमा परेको जाहेरीका आधारमा प्रहरीले उनीसँग बयान लिएको हो । त्यसपछि अत्तालिएका उनले ओली र देउवालाई भेटेका हुन् । गितेन्द्रबाबु (जीबी) राई अध्यक्ष र लामिछाने प्रबन्ध निर्देशक रहेका बखत सूर्यदर्शन सहकारीबाट मात्रै गोर्खा मिडिया नेटवर्क प्रालिमा ५ करोड ५८ लाख ९ हजार रुपैयाँ प्रवाह भएको तथ्य प्रहरीले प्रारम्भिक अनुसन्धानमा फेला पारेको छ । लामिछानेमाथि संसदीय विशेष समितिले र कास्की प्रहरीले समेत बयान लिएपछि प्रहरीको फन्दामा पर्ने त्रासमा परेका छन् । बयानपछि त्रसित बनेका लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेट गरेको प्रधानमन्त्रीको सचिवालय स्रोतले देशान्तरलाई जानकारी दिएको छ । सभापति देउवा र प्रधानमन्त्रीलाई भेटेर रविले हात जोडेर आफूले कुनै गल्ती नगरेको बताएको स्रोतले जनाएको छ ।





प्रतिक्रिया