देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गुप्तेश्वर गुफाको आम्दानीको स्रोत: कामधेनु गाई

देशान्तर

गण्डकी, २७ असोज – पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफा, ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्त्व बोकेको स्थल, अहिले कामधेनु गाईको कारणले आम्दानीको राम्रो स्रोत बनेको छ। यो गुफामा रहेको यान्त्रिक गाईलाई न त घाँस खुवाउनु पर्दैन, न कुँडोलगायत अन्य चिजहरूको आवश्यकता छ।

गत आर्थिक वर्षमा मात्र यस गाईले रु १३ लाख पाँच हजार ४० आम्दानी गरेको छ। गुफामा १६ वर्षदेखि कामधेनु गाई निरन्तर आम्दानीको स्रोत बन्दै आएको छ। गाईको प्रतिमाको भित्तामा दूध राखिएको छ, जुन ‘पाईप’को माध्यमबाट थुनसम्म पुग्ने व्यवस्था गरिएको छ।

कामधेनु गाईगोठमा रहेको यन्त्रजडीत गाईको नजिकैको सानो प्वालमा दश रुपैँयामा गुच्चा राखेपछि गाईको चारवटै थुनबाट दुध बगेर सिधै शिवलिङ्गमा पुग्ने व्यवस्था गरिएको छ। भक्तजनहरूले गाईको दूधले स्नान गरेर शुद्ध भई तल रहेको प्राकृतिक शिवलिङ्गको दर्शन गर्ने गर्दछन्।

विसं २०६४ सालमा रु एक लाख ५७ हजार एक सय ९८ लागतमा निर्माण गरिएको सो गाईले १६ वर्षमा एक करोड भन्दा बढी आम्दानी गरेको गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोलाले जानकारी दिए।

त्यस अवधिमा करीब १५ लाख दर्शकले टिकट काटेर गाईको दर्शन र प्रविधिको अध्ययन अवलोकन गरेका छन्। गुफामा स्वदेशी र विदेशी पर्यटकका साथै विद्यार्थीहरू पनि आउने गर्दछन्। विशेषगरी धार्मिक परम्पराअनुसार साउनको सोमबार, शिवरात्री, मङ्गलचौथी, हरिबोधनी एकादशी, ऋषितर्पणी, ऋषि पञ्चमी, बालाचतुर्दशी, नयाँ वर्ष लगायतका तिथिमा दर्शनार्थीको घुँईचो लाग्ने गर्छ।