देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

यस्ताे छ यू–१९ एसिया कपका लागि नेपालको अन्तिम टोली

देशान्तर

काठमाडौं । एसीसीले युएईमा यही नोभेम्बर २९ देखि सुरु हुने एसीसी यू–१९ पुरुष एसिया कप क्रिकेटका लागि नेपालको अन्तिम टोली घोषणा गरेको छ ।

यसअघि नेपाल क्रिकेट संघ (क्यान)ले १८ जनाको नाम सार्वजनिक गरेको थियो । एसीसीले शनिबार हेमन्त धामीको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली अन्तिम टोलीको नाम सार्वजनिक गरेको हो ।

अन्तिम टोलीमा समावेश भएका १५ मध्ये ७ खेलाडी नोभेम्बर ३० देखि सुरु हुने नपाल प्रिमियर लिग (एनपीएल) का लागि पनि विभिन्न टिममा छनोट भएका छन् । ती खेलाडीले एनपीएलको सुरुवाती केही खेल गुमाउनेछन् ।

फ्रेन्चाइज टिमहरुसँग सल्लाह गरेर यू–१९ एसिया कपपछि टिममा फर्कने सहमतिसहित उनीहरुलाई टिममा राखिएको क्यान प्रवक्ता छुम्बी लामाले बताए । क्यानले सार्वजनिक गरेको १८ जनामध्ये राजेश यादव, दयानन्द मण्डल र दिलसाद अली भने अन्तिम टिममा परेनन् ।

यू–१९ टिमका कप्तान हेमन्त धामीसहित आकाश त्रिपाठी जनकपुर बोल्ट्समा अनुबन्ध छन् भने उपकप्तान अर्जनु कुमाल र नरेन साउद सुदूरपश्चिम रोयल्समा अनुबन्ध छन् । यसैगरी नरेन भट्ट विराटनगर किंग्समा, रन्जित कुमार चितवन राइनोजमा, युनिश विक्रम ठकुरी कर्णाली याक्समा अनुबन्ध भएका छन् । यी ७ खेलाडीले एनपीएलको सुरुवाती केही खेल गुमाउनेछन् ।

काठमान्डु गुर्खाज, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सबाट भने कुनै पनि खेलाडी यू–१९ टिममा छैनन् । नेपाली यू–१९ टोलीको मुख्य प्रशिक्षकमा शक्ति गौचन छन् भने धिरेन्द्र चन्द सहायक प्रशिक्षक छन् ।

नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म हुने यू–१९ एसिया कपकमा नेपाल समूह बी मा छ । नेपाल रहेको समूह्यमा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । नेपालले आफ्नो पहिलो खेल नोभेम्बर २९ मै श्रीलंकासँग खेल्नेछ । यस्तै डिसेम्बर १ मा बंगलादेश र डिसेम्बर ३ मा अफगानिस्तानसँग खेल्नेछ ।

भारत, पाकिस्तान, युएई र जापान समूह ए मा छ । दुवै समूहको शीरेष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । खेलहरु दुबई र सारजहाँमा हुनेछ ।

नेपाल यू–१९ टिम

हेमन्त धामी (कप्तान), अर्जनु कुमाल (उपकप्तान), आकाश त्रिपाठी, उतत्म रंगु थापा मगर, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिन कुमार महतो, अपराजित पौडेल,अभिषेक तिवारी, रन्जित कुमार