देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शेरा दरबार जग्गा प्रकरणमा आफ्नो नाम जोडेकोप्रति प्रचण्डको आपत्ति

देशान्तर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटको शेरा दरबार जग्गा प्रकरणमा आफ्नो नाम जोडेकोप्रति आपत्ति जनाएका छन् । उनले शेरा दरबारको जग्गा सरकारको भए तुरुन्तै सरकारको नाममा ल्याउन चुनौती दिएका छन् । पृथ्वीनारायण शाहको शीतकालीन दरबारको रुपमा परिचित नुवाकोटको शेरा दरबारको १६३ रोपनी १३ आना जग्गा निजी कम्पनीबाट जफत गरेर सरकारको नाममा ल्याउन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सिफारिस गरेको छ ।
सीआईबीले चार महिना लामो अनुसन्धानपछि नेकपा माओवादी केन्द्रका नेता विकेश श्रेष्ठ सञ्चालक रहेको अन्नपूर्ण फार्मिङ कम्पनीको नाममा रहेको जग्गा सरकारको नाममा ल्याउनुपर्ने निष्कर्षसहित भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियोे ।

झापामा आयोजित माओवादीको खबरदारीसभालाई सम्बोधन गर्दै उनले सो जग्गा प्रकरणमा आफ्नो नाम जोड्नु भनेको बेइमानीपूर्ण कुरामात्रै भएको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशकै ‘जाली, झेली, कपटी र बेइमानी’ भएको आरोप लगाए । ओलीको निर्वाचन क्षेत्र झापा–५ को गौरीगञ्ज पुगेका उनले गिरिबन्धु टी–इस्टेटमा भएको बदमासी पर्दाफास गरेरै छाड्ने पनि बताए । दाहालले गिरिबन्धु, ओम्नी, नक्कली भुटानी शरणार्थी प्रकरणको पर्दाफास गरेर छाड्ने बताएका हुन् । उनले प्राप्त उपलब्धि खारेज गर्ने गरी हुने संविधान संशोधन माओवादीलाई मान्य नहुने बताए ।