देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मोरङबाट सुरु भयो, केपीलाई धक्का

देशान्तर


केही दिनअघि पत्रकार गणेश पाण्डेको पुस्तक विमोचनमा खुवै प्रशंसा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पक्षलाई ठूलै धक्का दिएको छ । नेकपा एमाले मोरङको अधिवेशनमा भण्डारी र ओली पक्ष खुलमखुला प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएको थियो । तर, पूर्वराष्ट्रपति भण्डारी निकट समूहले पार्टीको जिल्ला नेतृत्वमा विजय हासिल गर्दै पार्टीभित्र नयाँ शक्ति सन्तुलन कायम गरे को छ । मोरङ एमालेमा दशकौँसम्म वर्चस्व राख्दै आएका ओली पक्षलाई पराजित गर्दै भण्डारी पक्षले निर्णायक जित निकालेको हो ।


जिल्ला अध्यक्ष पदमा भण्डारी समर्थक अजम्बर राई निर्वाचित भएका छन् । उनले ओली समूहका प्रत्यासी राजकुमार ओझालाई ३९ मतको अन्तरले पराजित गरे । उपाध्यक्षमा सागर थापा, सचिवमा सन्तोष वान्तवा, उपसचिवमा उषा झा विजयी भएका छन् ।
एमाले मोरङको यस ऐतिहासिक परिणाममा पार्टीका प्रभावशाली नेता विनोद ढकालको निर्णायक भूमिका रहेको राजनीतिक वृत्तमा चर्चा छ । कुनै समय ओली समूहका कट्टर समर्थक रहेका ढकालले भण्डारी समूहतर्फ खुला समर्थन गरेपछि मोरङ एमालेको शक्ति सन्तुलन परिवर्तन भएको देखिन्छ । ढकालको समर्थन पाएको भण्डारी पक्षको टिमले अधिकांश पदहरूमा सहज जित निकालेको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मोरङ अधिवेशनमा प्रमुख अतिथिको रूपमा निमन्त्रणा गरिएको थियो । तर, आफ्नो समूह कमजोर देखिएपछि उनले अधिवेशनमा सहभागिता जनाएनन् । उनको सन्देश उपाध्यक्ष रामबहादुर थापामार्फत पठाइएको थियो, जसमा पार्टीको आन्तरिक प्रतिस्पर्धा नगराउने निर्देशन थियो । तर, प्रतिस्पर्धा रोकिन सकेन, र अन्ततः भण्डारी पक्षले आफ्नो पकड कायम ग¥यो ।


उपाध्यक्ष पदमा सागर थापा ४२२ मत ल्याएर निर्वाचित भए भने उनका प्रतिस्पर्धी शान्ति लिम्बू भुजेलले ३९१ मत मात्र ल्याइन् । सचिव पदमा सोमराज थापाले ४६१ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी रविन थापा ३६८ मतमा सीमित रहे । उपसचिव सन्तोष वान्तवाले भारी मतान्तरका साथ ४९० मत ल्याएर जित निकाले । महिला उपसचिवमा उषा झाले ४१८ मत ल्याउँदै विजय हासिल गरिन् ।
एमाले मोरङको अधिवेशन फागुन १७ गतेदेखि सुरु भएको थियो । ९११ जना प्रतिनिधिमध्ये ८८८ जनाले मतदान गरेका थिए ।
यो जितले एमाले मोरङको राजनीतिक सन्तुलन पुनःपरिभाषित गरेको छ । अब भण्डारी पक्षको प्रभावशाली उपस्थितिले पार्टीको भावी रणनीतिमा ठूलो भूमिका खेल्ने आँकलन गरिएको छ । पार्टीमा सक्रिय रहनकै लागि भण्डारीले राष्ट्रपति पद छाडेपछि सरकारी सेवा सुविधा नलिने बताएकी थिइन् । जननेता मदन भण्डारीपत्नी विद्यालाई ओलीले नै राष्ट्रपति बनाए पनि पछिल्लो समय यी दुईका बीचमा सम्बन्ध राम्रो नभएको राजनीतिक वृत्तमा चर्चा छ ।