देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ऋषभदेव घिमिरेद्वारा थाइल्यान्डमा स्थापित थाई नेपाली ‘आदर्श’ पुस्तकालयलाई पुस्तक सहयोग

देशान्तर

राष्ट्रिय साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष ऋषभदेव घिमिरेले बैंककमा स्थापित थाई नेपाली ‘आदर्श’ पुस्तकालयलाई पुस्तक सहयोग गरेका छन्।

थाइल्यान्डमा रहेका नेपाली भाषीको आग्रहअनुसार भाषा—साहित्यको ‘विकास, विस्तार, प्रवर्द्धन र सुधार’का लागि भन्दै कवि—साहित्यकार घिमिरेले १ सय ७५ वटा नेपाली साहित्यका पुस्तक उपलब्ध गराएका हुन्। 

म्यान्मा र थाइल्यान्डका साहित्य प्रेमी माझ परिचित घिमिरेले थाई नेपाली ‘आदर्श’ पुस्तकालयका काठमाडौँस्थित प्रतिनिधिलाई नेपाली साहित्यका पुस्तक हस्तान्तरण गरेका हुन्। 

नेपाल नागरिक समाज, भानु प्रतिष्ठान, राष्ट्रका साहित्य प्रतिष्ठानलगायत एक दर्जन बढी सामाजिक सङ्घ—सङ्गठनमा आबद्ध कवि घिमिरेको म्यानमार र थाईका नेपालीसामु  ‘मनमनमा म्यान्मा’ सबैभन्दा धेरै रुचाइएको कृत्ति हो। अझ भनौँ— ‘रमादेवीको कथा’ कविताचाहिँ बर्मेली नेपाली युवाको मनमनमा छ। 

ललितपुर, गोदावरी निवासी साहित्यकार घिमिरेका दर्जनौँ कृत्ति प्रकाशित छन्। तीमध्ये केही म्यान्माली नेपालीको जनजीवनसँगै सम्बन्धित छन्। उनी पटक पटक म्यानमाका नेपालीहरूको घरदैलोमा पुगेका छन्। यस अर्थमा पनि कवि घिमिरे बर्मेली र थाई नेपाली साहित्यको समीपमै छन्।

थाई नेपाली सङ्घ बैंकक शाखाको संरक्षण र शिक्षा विभागको पहलकदमीमा स्थापित ‘आदर्श’ पुस्तकालयका पदाधिकारीहरूले साहित्यकार घिमिरेलाई पुस्तक सहयोगपछि धन्यवाद दिएका छन्। 

‘म्यान्मा र थाइल्यान्डका साहित्य प्रेमीको तर्फबाट वरिष्ठ साहित्यकार ऋषभदेव घिमिरेज्यूलाई पुस्तकका लागि एउटा अनुरोध–पत्र पठाएका थियौँ। उहाँले हाम्रो आग्रहलाई सहजै स्विकार्नुभयो। पुस्तक सहयोगका लागि उहाँलाई धेरै–धेरै धन्यवाद छ,’ थाई नेपाली सङ्घ बैंकक शाखा, शिक्षा विभाग प्रमुख ओमप्रकाश न्यौपानेले भने।