देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एकता महाधिवेशन तोकिएकै मितिमा हुन्छ : एनआरएनए उच्चस्तरीय समिति

देशान्तर

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को उच्चस्तरीय समितिले यही वैशाख २० देखि २२ गते (मे ३ देखि ५ तारिख)सम्म काठमाडौंमा हुने ‘एकता महाधिवेशन’ नरोकिएको स्पष्ट पारेको छ ।

विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा महाधिवेशन पर सर्ने भनी गरिएको प्रचार भ्रमपूर्ण भएको उच्चस्तरीय समितिले जनाएको छ ।

“महाधिवेशन सार्न भनी सर्वोच्च अदालतमा निवेदन दर्ता गरिए पनि त्यो निवेदनका आधारमा कुनै अन्तरिम आदेश जारी नभएकाले तोकिएको मितिमै महाधिवेशन गर्नमा कुनै पनि अवरोध छैन,” विज्ञप्तिमा भनिएको छ।

समितिले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै डेलिगेट्स बन्नका लागि आवेदन दिने प्रक्रिया सकिएको र निर्धारित समयभित्र ३,१८१ जनाले आवेदन दिएको जनाएको छ ।

आवेदनहरू हाल प्रमाणीकरणको चरणमा रहेको, निर्वाचन समितिले आफ्नो काम सुरु गरिसकेको र डेलिगेट्सहरू महाधिवेशनमा सहभागी हुन देश(विदेशबाट काठमाडौं आउने क्रम सुरु भइसकेको पनि समितिले जनाएको छ ।

“केही पक्षबाट भ्रम सिर्जना गर्ने काम भइरहेको पाइएकाले त्यस्तो भ्रममा नपर्न हामी हार्दिक अनुरोध गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।

उच्चस्तरीय समितिकी सदस्यसचिव जानकी गुरुङले भनिन्, “महाधिवेशन रोकिएको छैन । तोकिएको समयमै हुन्छ। कुनै पनि भ्रममा नपरी काठमाडौं आएर एकता महाधिवेशन सफल बनाउन हामी सम्पूर्ण प्रतिनिधिज्यूहरूमा हार्दिक अपिल गर्दछौँ ।”