देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

समाजवादी गणतन्त्र निर्माणमा साथ दिन प्रचण्ड आग्रह

देशान्तर

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी गणतन्त्र निर्माणमा साथ दिन सबैलाई आग्रह गरेका छन्।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा आजदेखि सुरु भएको पार्टीको भातृ सङ्गठन वाइसीएल (योङ कम्युनिस्ट लिग)कर्णाली प्रदेश समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले माओवादी केन्द्र समाजवादी अभियानमा रहेको बताए। सो अभियानलाई अझ तीव्र बनाउने घोषणा उनले गरे।

अहिलेको सरकारले नीति तथा कार्यक्रममा कर्णाली प्रदेशमाथि देखाएको व्यवहारप्रति अध्यक्ष दाहालले असन्तुष्टि जनाए। उनले भने, ‘हामी सरकारको नेतृत्वमा रहँदा अन्तरराष्ट्रिय क्षेत्रमा नेपाल र नेपाली जनताको इज्जत र प्रतिष्ठा बढाउने काम गर्‍यौँ।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले वर्तमान सरकारले ‘कर्णाली समृद्धि कार्यक्रम’ हटाएर यस प्रदेशका जनतामाथि विभेद, अपमान र अन्याय गर्न खोजेको आरोप लगाए।

कर्णाली क्षेत्र नेपाली क्रान्तिको ऐतिहासिक केन्द्र भएको बताउँदै उनले प्रदेशको समृद्धिका लागि माओवादी नेतृत्वले सधैँ प्राथमिकता दिएको उल्लेख गरे।

पार्टीले जनता र आफ्नो वर्गसँग सम्बन्ध सुधारका लागि केन्द्रीय समितिबाट निर्णय गरेर जनतासँग माओवादी अभियान अघि सारेको उनले उल्लेख गरे। सोही अभियानअन्तर्गत तराई–मधेस अभियान सम्पन्न गरी ‘मध्यपहाडी लोकमार्ग अभियान’ सुरु गरिएको जानकारी दिए।

अध्यक्ष प्रचण्डले माओवादी केन्द्र संविधान संशोधनको पक्षमा रहेको उल्लेख गर्दै दलित, महिला, मधेसी, थारू, मुस्लिम र आदिवासी जनजातिलाई समेट्दै समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न संविधान संशोधन आवश्यक रहेको बताए।