देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भीम रावललाई प्रचण्डले गरे सहकार्यको अपिल

देशान्तर

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेबाट निष्कासनमा परी देशभक्त अभियान चलाइरहेका नेता डा. भीम रावललाई सहकार्यको अपिल गरेका छन् । शनिबार अछामको साँफेबगरमा आयोजित सभामा प्रचण्डले रावलसहित अन्य इमानदार कम्युनिस्टहरूसँग सहकार्य गर्न चाहेको बताए ।

‘कुनै समय पार्टीको उपाध्यक्ष रहनुभएका भीम रावलसँग हिजो फोनमा कुरा भएको थियो,’ प्रचण्डले भने, ‘उहाँले हाम्रो अभियानको शुभकामना दिनुभयो । मैले भनेको थिएँ– तपाईं हामीसँग बसेर कुराकानी गर्नुपर्ने मान्छे हो, किन अरूसँग कुरा गरिरहनु भएको ?’

‘म साँफेबगरको मञ्चबाट भीम रावललगायत इमानदार कम्युनिस्टहरूलाई सहकार्यको अपिल गर्न चाहन्छु,’ उनले भने, ‘अन्त भौँतारिएर केही फाइदा छैन ।’ रावलले भने प्रचण्डको प्रस्तावमा कुनै प्रतिक्रिया जनाइसकेका छैनन् ।

एमालेमा अध्यक्ष केपी शर्मा ओलीसँग लामो समयदेखि टसल चलेपछि रावल साधारण सदस्यसमेत नरहने गरी निष्कासनमा परेका थिए । हाल उनले मातृभूमि जागरण अभियान चलाइरहेका छन् । तर अभियान अहिले निष्क्रियजस्तै छ ।