देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रवि र छविको निवेदनमा आजै आदेश सुनाउने इजलासको तयारी

देशान्तर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामै राख्ने कि छाड्ने भन्ने आज टुंगो लाग्ने भएको छ।

न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले तीन दिनको सुनुवाइपछि आज आदेश गर्ने तयारी गरेको हो।

हेर्दाहेर्दैमा रहेको रवि र छविको निवेदनमा आज जाहेरवालाका तर्फबाट सुरुमा बहस हुनेछ। त्यसपछि रवि र छविका वकिलले जवाफी बहस गर्नेछन् र आदेश आजै सुनाउने इजलासको तयारी छ।

यसअघि मंगलबार रविका कानुन व्यवसायीले बहस गरेका थिए। उनीहरुको बहस बिहीबार पनि भएको थियो। बिहीबार रविका तर्फबाट बहस सकिएपछि छविका वकिलले बहस गरेका थिए। छविका वकिलको बहस सकिएपछि सरकारी वकिलले पनि बहस गरिसकेका छन्।

जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गर्ने तयारी छ। त्यसपछि रविका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले जवाफी बहस गर्ने तयारी गरेका छन्।

बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीले छविलाई थुनामा पठाउने र रविलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। त्यसविरुद्ध दुवै पक्ष उच्च अदालत पुगे।

उच्च अदालत बुटवलले रविलाई थुनामा पठाउने आदेश गर्दा छविको हकमा जिल्लाकै आदेश सदर गरेको थियो।

त्यसपछि रुपन्देही कारागारमा रहेका दुवै जनालाई थुनाबाहिरै रहेर मुद्दा लड्न पाउनु पर्ने माग गर्दै छुट्टा छुट्टै निवेदन दिएका थिए। त्यसको आज टुंगो लाग्ने सम्भावना छ ।