देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

न्यायाधीशमाथि लाञ्छनापूर्ण टिप्पणी नगर्न रवि समर्थकलाई अदालतको चेतावनी

देशान्तर

काठमाडौं । सर्वोच्च अदालतले अदालतका आदेश र न्यायाधीशप्रति सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत लाञ्छनापूर्ण तथा अशोभनीय टीकाटिप्पणी नगर्न चेतावनी दिएको छ ।

रास्वपाका सभापति रवि लामिछाने र छविलाल बन्जाडेलाई थुनामा राख्ने उच्च अदालत तुलसीपुर, बुटवलको आदेश सदर गर्ने क्रममा सर्वोच्चले यस्तो आदेश जारी गरेको हो ।

न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले सामाजिक सञ्जालमा न्यायाधीशहरूको मानमर्दन हुनेगरी नियोजित टिप्पणी भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

‘अदालतबाट भएका आदेश एवं फैसलाहरूउपर स्वच्छ र रचनात्मक टिप्पणीहरू सदैव अपेक्षित नै हुने भए तापनि नियोजित ढंगले न्यायाधीशहरूको मानमर्दन गर्ने र जनमानसमा भ्रमपूर्ण सन्देश प्रवाह गर्ने प्रकृतिका क्रियाकलापबाट न्याय सम्पादनको कार्यमा अनपेक्षित अवरोध हुन जाने भएकाले त्यसतर्फ संवेदनशील रहन सबै पक्षका लागि यो आदेश जारी गरिएको छ,’ आदेशमा भनिएको छ ।

इजलासमा बहसका क्रममा नायब महान्यायाधिवक्ता र जाहेरवालातर्फका कानुन व्यवसायीहरूले न्यायाधीशहरू विरुद्ध सामाजिक सञ्जालमा लाञ्छनापूर्ण टिप्पणी भएको भन्दै ध्यानाकर्षण गराएका थिए ।

त्यसैका आधारमा सुवेदी र ढकालको संयुक्त इजलासले संयमित र मर्यादित अभिव्यक्तिको आग्रह गर्दै आदेश जारी गरेको हो ।