देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलका सांसदहरुले गरे संसद अवरुद्ध

देशान्तर


काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै प्रतिपक्षी दलहरूले आज संसद् अवरुद्ध पारेका छन्। संसद्का प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म प्रतिनिधिसभाको कारबाही अघि बढ्न नदिने अडान लिएको छ ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठक सुरू गरेपछि सबै प्रतिपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद वर्षमान पुनलाई बोल्ने समय दिएका थिए । 

सांसद पुनले यो हप्ताभर सार्वजनिक सञ्चारमाध्यममा त्रिुभवन विमानस्थल अध्यागमनमा ‘भिजिट भिसा’ मा भ्रष्टाचार भएको चर्चा चलेको उल्लेख गर्नुहुँदै सामान्य नागरिक जो काम गर्न बाहिर जान्छन् उनीहरूलाई रु ५० लाखदेखि रु तीन करोडसम्म उठाइएको भन्ने तथ्य आएको बताए । 

मुख्य आरोपी सहसचिव तीर्थराज भट्टराईलाई गृहमन्त्रीले नै त्यहाँ पठाएको आरोप लगाउँदै त्यस विषयमा अनुसन्धान हुनुपर्ने प्रतिपक्षी दलको माग छ । गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसद् बैठक चल्न नदिने अडानमा रहेका विपक्षी दलहरूका सांसदहरुले सदनमा होहल्ला र नाराबाजी गरेका छन्।