देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

यातायात व्यवसायीको आन्दोलन फिर्ता

देशान्तर

काठमाडौं । यातायात व्यवसायीले आफ्ना सबै आन्दोलन फिर्ता लिएका छन् । गण्डकी प्रदेश सरकारले एक महिनाका लागि राइड सेयरिङ नियमावली स्थगन गर्ने निर्णय गरेसँगै व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् ।

आन्दोलन स्थगनसँगै सार्वजनिक सवारीसाधन हिजो मंगलबार बेलुकादेखि नै सञ्चालनमा आएका छन् । सोमबार सरकार र यातायात व्यवसायीबीच मध्यरातमा सहमति भएको थियो । सहमति भए पनि आज सार्वजनिक यातायात नचल्दा सर्वसाधारणले सास्ती खेप्नु परेको थियो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले आन्दोलनका कार्यक्रम स्थगित भएको जानकारी दिए । आन्दोलनका कार्यक्रम फिर्ता लिएसँगै सार्वजनिक यातायात सहज रूपमा चल्न थालेका छन् ।

सोमबार गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका उच्चपदस्थ अधिकारी र यातायात व्यवसायीबीच पटक–पटक वार्ता पश्चात् सहमति भएको थियो । सहमतिलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत गण्डकी प्रदेश सरकारसमक्ष पठाइएको थियो । सोही सहमतिका आधारमा गण्डकी सरकारले नियमावली स्थगन गरेको हो ।

संघीय सरकारसँग सहमति भए पनि प्रदेश सरकारले नियमावली स्थगन नगर्दासम्म आन्दोलन जारी रहने भन्दै व्यवसायीले आज दिनभर सवारी साधन नचलाउँदा त्यसको मारमा आमनागरिक परेका थिए ।