देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित

देशान्तर

काठमाडौं । चैते धानले समर्थन मूल्य नपाउँदा चितवनका किसान चिन्तित भएका छन् ।

सरकारले चैते धानको समर्थन मूल्य दुई हजार ८७९ रुपैयाँ तोकेको भए पनि यहाँका किसान एक हजारदेखि एक हजार ८०० रुपैयाँसम्ममा बेच्न बाध्य भएका छन् । धान थन्काउने समयमा समर्थन मूल्य नपाएपछि किसान निरास भएका हुन् ।

चैते धानको समर्थन मूल्य नपाएकामा किसान खिन्न छन् । चैते धान लगाएका किसान समर्थन मूल्य नपाएपछि आगामी वर्षदेखि धानखेती नगर्ने निर्णयमा पुगेका छन् ।

समर्थन मूल्य नपाएपछि किसानले पालिका र उद्योग वाणिज्य संघका पदाधिकारीसँग छलफल गरेका छन् ।

पूर्वी चितवनको रत्ननगर, खैरहनी, माडी नगरपालिकासहित भरतपुर महानगरका केही भूभागमा चैते धानखेती हुने गरेको छ । कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलले व्यवसायीका कारण किसानले मूल्य नपाएका बताए ।

स्थानीय व्यवसायी र सरोकार भएकाहरूबीचमा छलफल जारी रहेको जानकारी दिँदै उनले चाँडै निष्कर्ष निस्कने विश्वास व्यक्त गरे ।

चितवनमा यो वर्ष करिब १० हजार हेक्टरमा चैते धानखेती भएको छ । गत वर्ष नौ हजार ५०० हेक्टरमा चैते धान रोपिएकामा ५९ हजार ५१९ मेट्रिक टन उत्पादन भएको थियो ।