देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सन्तोष कुँवरले गरे एनआरएनए अस्ट्रेलियाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

देशान्तर

गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको आगामी २०२५–२०२७ कार्यकालका लागि हुने निर्वाचनमा सन्तोष कुँवरले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। जुलाई २६ मा हुने निर्वाचनमा १५,३०० भन्दा बढी मतदाताले नयाँ नेतृत्व चयन गर्नेछन्।

सन्तोष कुँवर, हाल एनआरएनए अस्ट्रेलियाको महासचिव छन्, ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै संस्थाको दिगो विकास, आर्थिक पारदर्शिता र प्रविधिमैत्री बनाउन जोड दिएका छन्। एक दशकभन्दा लामो समयदेखि एनआरएनएमा सक्रिय कुँवरले आफ्नो यात्रा राज्य समन्वय परिषदको सचिवबाट सुरु गरेका थिए। उनले २०१७–१९ मा राज्य संयोजक, २०१९–२१ मा आइसिसी सदस्य र २०२१–२३ मा ओसेनिया क्षेत्रीय उपसंयोजकको भूमिका निर्वाह गरेका छन्।

‘मेरो यो यात्रामा मैले एनआरएनएलाई प्रविधिमैत्री, पारदर्शी र सरकारी समन्वययुक्त बनाउन निरन्तर काम गरेको छु,’ कुँवरले भने, ‘अध्यक्षको रूपमा नेतृत्व गर्न पाएमा दुई वर्षभित्र संस्थालाई सबै प्रवासी नेपालीको साझा मञ्च बनाउनेछु।’

सन् २००९ मा विद्यार्थी भिसामा अस्ट्रेलिया आएका कुँवरले मास्टर्स पूरा गरेपछि व्यवसायमा लागेका थिए। हाल उनी ब्रिसबेनमा माइग्रेसन एजेन्टको रूपमा ‘माइग्रेसन ल एन्ड प्राक्टिस’ मा स्नातक गरेर व्यवसाय सञ्चालन गरिरहेका छन्।

आगामी जुलाई २६ मा हुने निर्वाचनमा १५,३०० भन्दा बढी मतदाताले भाग लिनेछन्। यो निर्वाचनले एनआरएनए अस्ट्रेलियाको दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ।