देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सहमतिमा तोकिएभन्दा अगावै देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्न ओली तयार

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दलबीचको सहमतिमा तोकिएभन्दा अगावै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्न आफू तयार रहेको बताएका छन्।

स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बुधबार म्याड्रिडस्थित नेपाली राजदूतको निवासमा आयोजित प्रवासी नेपाली मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

ओलीले भने, ‘मैले दुई वर्ष सरकारको नेतृत्व गर्ने कुरा हो। तर, त्यो अवधि सकिएपछि मात्र सत्ता हस्तान्तरण गर्नुपर्छ भन्ने छैन। बरु १०–१५ दिन अगावै देउवाजीलाई पद सुम्पिन्छु।’

उनले कांग्रेस र एमालेबीचको गठबन्धन ०८४ सालको निर्वाचनसम्मै कायम रहने पनि बताएका छन्।

त्यस क्रममा ओलीले युरोपमा स्थायी र अस्थायी रूपमा बसिरहेका नेपालीलाई शुभकामना दिए। त्यसैगरी उनलले युरोपमा कठिनाइ भोगिरहेका नेपालीलाई नेपाल फर्केर आधुनिक कृषिमा अवसर खोज्न पनि सुझाव दिएका छन्।

त्यसैगरी प्रधानमन्त्री ओली स्पेनका लागि नेपाली दूतावास र स्पेन उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा पनि सहभागी भएका छन्।

संयुक्त राष्ट्रसंघीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका कार्यक्रममा भाग लिन ओली यही असार १४ गते स्पेन गएका हुन्। उनी असार २० गते साँझ ४ः४५ बजे स्वदेश फर्किने तालिका छ।