देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्र बैंकले लघुवित्तका लागि जारी गर्यो नयाँ निर्देशन

देशान्तर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ मा परिमार्जन गर्दै नयाँ निर्देशन जारी गरेको छ ।

बिहीबार लघुवित्त संस्थाको लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गरेर जारी गरेको हो । राष्ट्र बैंकले संशोधन गरेको निर्देशन अनुसार लघुवित्तले ब्याजदर घटाउँदा वा नबढाउँदा सबै ग्राहकले समान रुपमा सुविधा पाउने गरी व्यवस्था मिलाउनु पर्ने निर्देशनमा उल्लेख छ ।

लघुवित्तले प्रवाह गर्ने कर्जाको परिवर्तनीय ब्याजदरको साथै स्थिर ब्याजदरसमेत प्रकाशन गर्नु पर्ने व्यवस्था गरेको छ । यस्तै ग्राहकले कर्जा लिँदा परिवर्तनीय ब्याजदर र स्थिर ब्याजदरमध्ये कुनै एक किसिमको ब्याजदर कायम हुने गरी कर्जा लिन सक्ने व्यवस्था मिलाउनु पर्नेछ ।

परिवर्तनीय ब्याजदरमा प्रवाह भएको कर्जाको हकमा कर्जाको प्रस्ताव पत्रमा उल्लेख गरिएको प्रिमियम दर कर्जा अवधिभर परिवर्तन गर्न नपाइन निर्देशनमा उल्लेख छ ।

स्थिर ब्याजदरमा प्रवाह भएको कर्जाको हकमा कर्जाको प्रस्ताव पत्रमा उल्लेख गरिएको ब्याजदर कर्जा अवधिभर परिवर्तन गर्न पाइने छैन । लघुवित्तले परिवर्तनीय ब्याजदर र स्थिर ब्याजदरको विवरण राष्ट्र बैंकमा पेस गर्नुपर्नेछ ।

लघुवित्तले मासिक रूपमा आधार दर तयार गरी महिना समाप्त भएको १५ दिनभित्र राष्ट्र बैंकमा पेस गर्नुपर्ने छ । साथै,आधार दर मासिक रूपमा आफ्नो वेबसाइटमा प्रकाशन गर्नु पर्नेछ ।

लघुवित्तले आगामी त्रैमासिको लागि कर्जा तथा सापटमा लागु हुने ब्याजदर सम्बन्धी सूचना त्रैमासिक सुरु हुनु पूर्व आफ्नो वेबसाइट तथा शाखा कार्यलयहरुमा प्रकाशित गरिसक्नुपर्ने भएको छ ।

त्यस्तै कर्जा प्रवाह गर्दा ऋणीसँग गरिने सम्झौतामा वार्षिक पेनाल ब्याजदर २ प्रतिशतभन्दा बढी लिन नपाउने भएका छन् ।