देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सीकेले धोका दिएपछि उपेन्द्रसँग रेशमको पार्टी एकता प्रस्ताव, जसपा नेपाल सकारात्मक

देशान्तर

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले जसपा नेपालसँग पार्टी एकताका लागि प्रस्ताव राखेका छन् । उनको प्रस्तावप्रति जसपा नेपाल सकारात्मक देखिएको छ ।

जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा शनिबार आयोजित एक कार्यक्रममा नागरिक उन्मुक्तिका संरक्षक चौधरीले मञ्चबाटै एकता र सहयकार्यको प्रस्ताव गरेका थिए ।

जसलाई जसपा नेपालका महासचिव रामकुमार शर्माले आफ्नो पार्टीले सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिएका छन् । ‘यो निकै सकारात्मक प्रस्ताव हो, यो देशमा थारू र मधेशी नमिलेसम्म परिवर्तन सम्भव छैन, रेशम चौधरीजीले आफैँले सार्वजनिक रूपमै यस्तो प्रस्ताव ल्याउनु नै सकारात्मक सन्देश हो,’ उनले भने ।

यसअघि जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच एकताको तयारी थियो । तयारी घोषणाको केही घण्टाअघि नै एकता प्रक्रिया भाँडिएको थियो । जसका कारण अब ती दुई दलबीच एकता नहुने लगभग निश्चित भएको छ ।

जनमत र नागरिक उन्मुक्तिबिच एकता हुने भए रूपन्देहीमा हुन लागेको आम निर्वाचनमा यी दुई दलबिच सहकार्य हुने थियो । तर त्यो पनि अब टरेको छ । यसलाई प्रस्ट्याउँदै नागरिक उन्मुक्तिका एक नेता भन्छन्, ‘जनमतले नागरिक उन्मुक्तिलाई धोखा दिएको हो ।’

यद्यपि जसपा नेपालसँग औपचारिक रूपमा पार्टी एकताबारे कुनै प्रस्ताव वा छलफल भने नभएको ती नेताले बताए । ‘तर मधेशी र थारू मिल्नुपर्छ भन्ने सोच रहेकाकाले जसपा नेपालसँग कुरा अगाडि बढाउन सकिन्छ,’ उनले भने ।

रुपन्देहीमा हुने उपनिर्वाचनमा जसपा नेपालले सबैभन्दा पहिले नागरिक उन्मुक्ति पार्टीलाई समर्थन गरेको थियो । संघीय लोकतान्त्रिक मोर्चामा रहेका अन्य दलहरूले पनि नागरिक उन्मुक्तिलाई समर्थन गरिसकेका छन् ।

महासचिव शर्माका अनुसार नागरिक उन्मुक्तिको प्रस्तावमाथि पार्टीले विचार गर्ने र यसलाई अगाडि बढाउछ ।