देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

असोज ३ गतेभित्र एनटीभी वर्ल्ड सञ्चालनमा ल्याउने तयारी

देशान्तर

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण नेपालको ‘एनटीभी वर्ल्ड’ असोज ३ गतेभित्रै सञ्चालन गर्न निर्देशन दिएका छन् ।

सिंहदरबारस्थित नेपाल टेलिभिजनमा पुगेर उनले एनटिभी वर्ल्डको तयारी भइरेहकोमा निरीक्षण गर्दै व्यवस्थापनलाई आवश्यक निर्देशनात्मक सुझाव दिए । मन्त्री गुरुङले एनटीभी वर्ल्डले विश्वमा नेपाल जोड्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै यसको सञ्चालनमा छिटो जोड दिनुपर्ने बताए ।

सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले नेपालको मौलिकता र विशेषतालाई कायम राख्ने गरी एनटीभी वर्ल्डका कार्यक्रम प्रस्तुत गर्न सुझाव दिइन् । साथै उनले विश्वसामु नेपालको पहिचान स्थापित गर्ने विषयमा जोड दिन आग्रह गरिन् ।

पीएसबीका अध्यक्ष डा. महेन्द्र विष्टले एनटीभी वर्ल्डको मर्म र उद्देश्यपूर्ति गर्न व्यवस्थापनमा खटिएको बताए । यसका लागि मन्त्रालयको सहकार्यले नै कार्य सम्पादनमा सघाउ पुगेको उनले जानकारी दिए । सीमित स्रोत र साधनका बीच एनटीभी वर्ल्डलाई विश्वसामु लायक बनाउन प्रयत्नरत हुने उनको प्रतिबद्धता छ ।

कार्यक्रममा डा. टंक उप्रेतीले एनटीभी वर्ल्ड सञ्चालनको पूर्वतयारीबारे कार्यपत्र प्रस्तुत गरेका थिए । उनको प्रस्तुतिमा एनटीभी वर्ल्ड सञ्चालनको ढाँचा, सामग्री र रचनात्मक संरचनामा केन्द्रित थियो ।