देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पाकिस्तानमा भारी वर्षा, ५४ जनाको मृत्यु

देशान्तर

एजेन्सी । पाकिस्तानमा भारी मनसुनी वर्षाका कारण पछिल्लो २४ घण्टामा ५४ जनाको मृत्यु भएको सरकारको विपद् एजेन्सीले बिहीबार बताएको छ । योसँगै मनसुनी वर्षाका कारण मृतकको सङ्ख्या करिब एक सय ८० पुगेको छ ।

बुधबार बिहानदेखि पञ्जाब प्रान्तका केही भागमा मुसलधारे वर्षा हुँदा सहरी बाढी निम्त्याएको छ । राजधानी इस्लामाबादको छेउमा रहेको रावलपिन्डी सहर हुँदै बग्ने नदी नजिकै बस्ने बासिन्दाहरूलाई पानीको सतहमा तीव्र वृद्धि भएपछि खाली गर्न आदेश दिइएको छ ।

‘पछिल्लो २४ घण्टामा पाकिस्तानभरि ५४ जनाको मृत्यु भएको छ र दुई सय २७ जना घाइते भएका छन्, अधिकांश मृत्यु पञ्जाबबाट भएको रिपोर्ट गरिएको छ’, राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ताले एएफपीलाई भने ।

जुन २६ मा मनसुन सुरु भएदेखि ७० बालबालिकासहित करिब एक सय ८० जनाको मृत्यु भएको र करिब पाँच सय जना घाइते भएको प्रवक्ताले बताए ।

राष्ट्रिय मौसम विभागले शुक्रबारसम्म भारी वर्षा जारी रहने चेतावनी दिएपछि रावलपिन्डी सरकारले मानिसहरूलाई घरमै राख्न बिहीबार सार्वजनिक बिदा घोषणा गरेको छ ।

‘जोखिमपूर्ण क्षेत्रका बासिन्दाहरूले आपतकालीन अवस्थामा तीनदेखि पाँच दिनसम्म खाना, पानी र आवश्यक औषधिहरू सहितको आपतकालीन किटहरू तयार गर्नुपर्दछ’, सरकारले भनेको छ ।

सन् २०२२ मा मनसुनी बाढीले देशको एक तिहाइ भाग डुबाएको थियो र एक हजार सात सय जनाको मृत्यु भएको थियो ।