देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रजातन्त्रका खम्बा तुलसीनारायणलाई फर्केर हेर्दा

देशान्तर

                                         अच्युतप्रसाद पौडेल ‘चिन्तन’

स्थानीय भएकाले तुलसीनारायणको नाम याद छ, तर कार्यव्यस्तताले गर्दा लामो संगत उनीसँग भएको छैन । कसैका विषयमा समीक्षा वा टिप्पणी गर्ने काम सजिलो छैन । धेरै पहिलेको एक स्मरण याद आउँछ । प्रजातन्त्रका लागि खट्ने जेल, जीवन बिताउने कांग्रेसका होमनाथ दाहाललाई केन्द्रीय कारागारमा भेट्न जाँदा उनले भनेका थिए, ‘म प्रजातन्त्रको एक सिपाही हुँ ।’ नेपाली कंग्रेस पक्षधर, प्रजातन्त्रकै सेनानी, तुलसीनाराायण खमु श्रेष्ठको जीवनी गाथा पुस्तक भर्खरै सार्वजनिक भएको छ । सार्वजनिक भएपछि कसैप्रति टिप्पणी गर्न अलि सहज हुन्छ । आकर्षक डिजाइनसँगै बाक्लो आवरणमा प्रकाशित उनको जीवनीगाथा लेखन, संकलन, सम्पादनको श्रेय बालकृष्ण दाहाल बीकेडी र कुमार रञ्जितलाई गएको रहेछ ।

दर्शनशास्त्रको विद्यार्थीका नाताले भन्नुपर्छ, जीवन नदी हो, बहन दिनुपर्छ, फर्केर हेर्ने फुर्सद नदीलाई हुन्न, नदीका दुई किनारा सुख र दुःख हुन्, नदी बग्ने बालुवा वैराग्य हो भनौँ पद, प्रतिष्ठा, पैसा, पुत्र, पुत्री, परिवार, प्रशंसा सबै पवर्गमा पर्छन् र यी चिरस्थायी हुन्नन्, साधन त पक्कै हुन्, बालुवामा नदी टाँसिन्न, जसरी कर्कलो, जलुको, कमल हिलोमा हुन्छ तर पातमा हिलो वा पानी अड्दैन, अर्थ हुन्छ वैराग्य । कुनैप्रति लिप्त, आशक्त नहुने !

नेपाल प्रजातन्त्र सेनानी संघ बाग्मती प्रदेश कार्य समिति काठमाडौं प्रकाशक रही बाबु प्रिन्ट एड सप्लायर्स प्रालि प्रेस रहेको यो पुस्तकले नेपाली साहित्य आकाशमा नयाँ आयतन थपेको प्रतीत हुन्छ, र प्रजातन्त्रप्रति समर्पित व्यक्तिको व्यक्तित्व अध्ययन गर्न पछिल्लो पुस्ता सबैलाई प्रेरित पनि गरेको अनुभूति हुन्छ । उनलाई जसले चिने, जाने, चिनेकै छन्, जानेकै छन् तर बाँकीहरूले पनि जान्नलाई यो पुस्तकले थप सहयोग पक्कै गर्नेछ, यसौ भनौँ कृति कसैले तेह्र दिन पछि नामसारी गर्न नसक्ने सम्पत्ति हो ।

पुस्तको आवरण र शीर्षकले नै स्पष्ट पार्छ निरंकुश नेपालको राणा शासनप्रति निर्मम हुँदै प्रजातन्त्रका सेनानीहरूले नेपालमा प्रजातन्त्र ल्याउन भरपूर योगदान गरे, जेल, नेल भोगे, ज्यान गुमाए । यसमा महत्वपूर्ण योगदान गर्नेहरू बीपी थिए, गणेशमान थिए, कृष्णप्रसादहरू पनि थिए तर नेपाली कंग्रेसलाई जसले जग बसाल्यो, तिनको निष्ठा र आदर्श अनि भनौँ सिद्धान्त र विचार अहिलेका सँग छैन । जनमत संग्रहलाई स्विकारेका बीपी अहिलेको प्रणाली नआउँदै बिदा भए, जसको अन्त्येष्टिको शवयात्रा यति विशाल थियो, हेरेर नभ्याइने, पंक्तिकार आबद्ध थियो, लौहपुरुष गणेशमान कांग्रेसबाट करिब हार खाई अन्त्य हुँदा शोभा भगवतीको बाक्लो शवयात्रामा पनि ! छाता र सुराही लिएर बालुवाटार पसी उही अवस्थामा फर्कने कृष्णप्रसाद भट्राई त सन्तका नाताले उनको अन्त्येष्टिमा पंक्तिकारले आर्यघाटमा आफ्नै हातले कर्म गराएको होे । बीपी वंशका जीपीको पालामा पनि भीड थियो, तर नेपालको इतिहासले पछि गम्भीर अर्कै मोड लिइसकेको थियो ।

प्रजातन्त्र आयो तर अहिलेको प्रजातन्त्र छासमिसे छ, कसले नेतृत्व गरेको छ नै भन्न सकिन्न, रुखले अन्यत्रै भोट हालेको र सरकार बनाउँदा पृथक सिद्धान्तसँग पनि गला जोडिएको अवस्था छ । यसो भनौँ, अब कंग्रेस एक्लै हिँड्न नसक्ने भयो, उसलाई दुक्लै वा बहुप्रणालीबाट लठ्ठीको सहारा चाहिन्छ । यो भनाइ मैलेभन्दा बढी पुराना निष्ठावान् समर्पित पुराना नेताजीहरूले अहिले सञ्चारमाध्यहरूमा भनिरहेका छन् ।

प्रस्तुत जीवनगाथा पुस्तकमा प्रजातन्त्रका योद्धाहरू शेरबहादुर देउवा, डा.शेखर कोइराला, प्रदीप पौडेल, कृष्ण बानियाँलगायत कंग्रेस पक्षधर सन्तोष चालिसे, दीपककुमार रिसाल, गोविन्दप्रसाद गजुरेलहरूले आफ्नो मन्तव्य दिएर पुस्तकलाई थप उजिल्याएका छन् भने तुलसीजीको उचाइमा इँटा थपेका छन् । यसो भनौँ, जतिसुकै ठूलो भए पनि उठाउने अरूले हो, आफन्तले हो, उठ्न जोकोहीलाई पनि असहज हुन्छ, उठ्न खोज्नेलाई तलबाट तानिन्छ पनि ! झन्माथि अब त उनको बुढ्यौलीकै कारण पनि अरूको टेको चाहिएको छ, परिवार, समाज र जसप्रति समर्पित भइयो तिनको बढी याद आउने नै भयो ।

देशमा प्रजातन्त्रको बिहानी सुरु भएसँगै २००८ सालमै कांग्रेसको विधानमुताविक दलको सदस्यता लिएका, २०३६ सालमा जेल परेका, २०४२ को सत्याग्रहमा जेल परेका, २०४६को पञ्चायत विरोधी आन्दोलनमा पुनः जेल परेका तुलसीलाई खारिएको नेता भन्नुपर्छ र अहिले त उनी ९ दशकका वसन्तहरू पार गर्दै गर्दा हार नखाएको महसुस गर्दै छन्, साहस बाँकी नै छ । बौद्धको सेरोफेरोमा रहेका उनको पुस्तक भर्खरै बौद्धको एक पार्टी प्यालेसमा सार्वजनिकीकरण र उनका विषयमा बहस भएको छ ।

राजनीतिक शास्त्रका गुरुहरू हब्स, लक, रुसो, प्लेटो, एरिस्टोटलहरू अहिले छैनन् । प्रजातन्त्रका पिता भनिएका अब्राहम लिंकन पनि छैनन्, जसले प्रजातन्त्र जनताको, जनताका लागि र जनताद्वारा भनेका थिए । अहिले सिद्धान्तमा विचलन देखिएको छ, सायद समयानुकूल परिभाषा एकै रहन्न होला, जनताको जीवनस्तर उठ्न नसकेको कहलीलाग्दो अवस्थामा छौँ हामी र अचाक्ली ऋणभार, व्ययभार, वैदेशिक घाटाको मारमा छौँ । आफ्नो उत्पादन करिब छैन भन्दा हुन्छ र नेपाली धेरैले वैदेशिक रोजगारीको सहारा लिएका छन् र त्यसबाट प्राप्त विप्रेषण रकमले हाम्रो लोकतन्त्र धानिएको छ । समय गतिशील छ तर ऊध्र्वगति राम्रो हो अधोगतिभन्दा ! भूगोलको आकार जनसंख्याको स्तर हेर्दा हामीले प्राप्त गरेको संघीयता घाँडो भइसकेको छ ।

संविधानसभाबाट संविधान बनाउने कंग्रेसको पहिलेकै आदर्श हो तापनि पछिल्ला एजेन्डाहरू कंग्रेसका मौलिक होइनन् कि भन्ने चर्चा चारैतिर सुनिएको छ, यद्यपि कृष्णप्रसाद, गणेशमान, बीपीहरूको समयपछि देशले नयाँ युगको चरणमा प्रवेश गरेको र युद्धका विभिषिकाहरूबाट बच्न केही गुमाउनु केही प्राप्त गर्नुपर्ने नयाँ परिवेशको प्रतिफल हो यो । तर, सधैँ परिक्षण र संक्रमणकै अवस्था रहिरहनु राम्रो होइन ।

बीपीले भनेका थिए– मैले देशमा १५ वर्ष काम गर्न पाए सबैका लागि गाँस, वास र कपासको व्यवस्था मिलाउनेछु । गणेशमान सिंहले भनेका थिए– राजाको हातबाट मर्नुभन्दा बाघबाट मर्दा आत्मसन्तुष्टि हुन्छ । सिद्धान्त राम्रो थियो । तुलसी नारायणप्रति टिप्पणी गर्दै शेरबहादुर देउवाले भनेका छन्– नेपालको प्रजातान्त्रिक आन्दोलनहरूमा प्रजातन्त्र सेनानी खमुलगायत थुप्रै साथीहरूको सक्रिय र महत्वपूर्ण योगदान रहेको छ ।

डा. शेखरले भनेका छन्– खमुजीको जीवनगाथा देशको इतिहास, आन्दोलन र त्यसका उपलब्धिहरू बारे जान्न खोज्ने नयाँ पुस्ताका लागि निकै उपयोगी हुनेछ । प्रदीप पौडेलको शब्द रह्यो– लामो समयको जेल जीवनको संघर्ष, आन्दोलन र लोकतान्त्रिक गणतन्त्रसम्मको यात्राका साक्षी खमुजीप्रति उच्च सम्मान व्यक्त गर्दछुु । यसमा किशोर नेपालले भनेका छन्– हाम्रो अभियानको प्रभावकारिता बढाउन दाइको हार्दिक योगदान रह्यो, उहाँले बस्तीवरिपरि पनि बहुदलको सन्देश प्रवाहित गर्नुभयो । तुलसीजीले आफ्नै शब्दमा भनेका छन्– कसैले पनि अरुको सम्पत्तिको लोभ गर्नुहुन्न, आफ्नै मिहिनेतले सम्पत्ति जोड्नुपर्छ, यही सम्पत्तिबाट समाजमा दुःखमा परेका मानिसहरूलाई सहयोग गनुपर्छ । यति उद्गार व्यक्त भइसकेपछि उनीमाथि पुनः टिप्पणी गर्नु भनेको कोइलीको भीडमा काग कराउनुजस्तो मात्रै हुन्छ । उनले आर्जित रकम धेरै संघसंस्थाहरूलाई वितरण गरेको प्रसंगले पनि उनी दानवीर रहेको स्पष्ट हुन्छ ।

तुलसीदास र तुइलमाया दम्पतीका सन्तान तुलसीनारायण र तिनका बहुआयामिक परिवारहरूले देश विदेशको अनुभव सँगालिसकेको र ती सबैले आफ्नो मौलिक धर्म, संस्कृति, संस्कार बोकेको आभास भइरहँदा मौलिक संस्कृतिप्रेमीको नाताले खुसी लाग्नु स्वाभाविक हो । अन्ततः तुलसीजीले समाजबाट प्राप्त गरेका सम्मान तथा शुभकामनाका प्रमाणपत्रहरू रंगिन सजिएको आकर्षक फोटाहरू सजिएको पुस्तक पठनीय छ, महनीय छ, संग्रहणीय पनि ! छपाइमा खासै टिप्पणी गर्नु छैन, यसमा मिहिनेत छ, श्रम र परिश्रम पनि ! पुस्तकको मूल्य ३ प्रकारको छ, सामान्य नै मान्नुपर्छ, व्यक्तिगतका लागि ! अन्त्यमा तुलसीनारायण, उनको परिवार सबै र सम्बद्ध सबैप्रति शुभकामना भन्छु, लेखनीलाई विश्राम दिन्छु !

जोरपाटी, गोकर्णेश्वर, काठमाडौं
appoudel20@hotmail.com