देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विधान संशोधन प्रस्तावमाथि भदौ १० गतेभित्र सुझाव दिन मातहतका कमिटीलाई एमालेको आग्रह

देशान्तर


काठमाडौं । नेकपा (एमाले)ले विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्तावमाथि आगामी भदौ १० गतेभित्र सुझाव दिन मातहतका कमिटीलाई आग्रह गरेको छ ।


एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी–१२) मा केन्द्रीय कमिटीको बैठकबाट पारित उक्त विधान संशोधन प्रस्तावमा मातहतका कमिटी र सदस्यहरुले आफ्नो सुझाव लिखित रूपमा सो अवधिभित्र पार्टी केन्द्रीय कार्यालयमा आइपुग्ने गरी पठाउनुपर्ने उल्लेख छ ।

अपानी–१२ मा मातहतका कमिटीबाट  प्राप्त सुझाव उपर विधान महाधिवेशनपूर्व बस्ने केन्द्रीय कमिटीमा छलफल गरी आवश्यक निर्णय लिइने उल्लेख छ । आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुने पार्टीको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष  विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रस्ताव प्रतिवेदन प्रस्तुत गर्ने छन्। यी तीनै प्रतिवेदन पार्टीको सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीमा संशोधनसहित पारित गरिएको छ । 

पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि पार्टीको विधान महाधिवेशनका प्रतिनिधि हुने वैधानिक व्यवस्था गरिएको अपानी–१२ मा उल्लेख छ । दशौँ राष्ट्रिय महाधिवेशनमा सहभागी नभएका र यसबीचमा केन्द्रीय कमिटी तथा निकायमा मनोनित भएका आयोजकको हैसियतमा विधान अधिवेशनमा सहभागी हुन पाउने व्यवस्था गरिएको अध्यक्ष ओलीले जारी गरेको अपानी–१२ मा उल्लेख छ । 

अध्यक्ष ओलीले एमाले राष्ट्रिय राजनीतिको केन्द्र भागमा रहेको उल्लेख गर्दै पार्टीको भविष्य अन्य पार्टीको तुलनामा निकै उज्यालो रहेको बर्ताए । 

“वर्तमानमा हामी राष्ट्रिय राजनीतिको केन्द्र भागमा छौ र हाम्रो पार्टीको भविष्य अन्य पार्टीको तुलनामा निकै उज्यालो छ । तर हामीले यतिकैमा सन्तोष गरेर बस्नु हुँदैन,” अध्यक्ष ओलीले जारी गरेको अपानी–१२ मा भनिएको छ, “अब हाम्रो यात्रा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा र राष्ट्रिय गन्तव्य पुरा गर्ने कुरामा केन्द्रित हुनुपर्दछ । जनप्रतिनिधिमूलक निकायको कामलाई थप प्रभावकारी बनाउन जोड दिनु आवश्यक छ । त्यसका लागि पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नु पर्नेछ । ‘मिसन ८४’ सफल बनाउँदै पार्टीको नेतृत्वमा एकल बहुमतको सरकार निर्माण गर्नुछ ।”