देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लहड

देशान्तर

वसन्त लोहनी

विधि विधान आफ्नै ठाउँमा छन्
तिनको लागि वकालत गर्ने म नै हुँ
तर –
सबै धारा सधैँ सक्रिय हुनुपर्ने संविधान
निष्क्रिय पार्न सक्छु म; पारेकै छु
कसैलाई झापु हान्न परेमा सक्रिय पार्न पनि सक्छ
निष्क्रिय भएर थन्किएको कानुनलाई
थाहा छ यो सब कसरी सम्भव भएको छ ?
उत्तर होः म एक लहडी बन्न सकेकोले
शासन भनेकै लहड हो
एउटा सिर्जना हो लहडिन सकेको कविको जस्तो
विधि विधानहरू भत्किन्छन्, भत्काइन्छन्
आफू अनुकूल जोडिन्छन् सुन्दर चित्र देखाउन ।

शक्ति छड्किँदाको लहड–भुल्को
के चाहियो त्यसपछि
तँछाडमछाड गरिरहेका
आँखाले देखेसम्म नटुंगिएको
एउटा लामो कतार
कोभिड भ्याक्सिनको दृश्य जस्तो
यी सबैलाई बाँच्नु छ
दासत्वको परखमा उत्तीर्ण भएर
त्यसैले परीक्षार्थी बनिरहेका छन्
उत्कृष्ट झोले बन्न
एउटा लाल बुझक्कडले भनेछ –
‘स्वाभिमानको लागि झोले बनेको’
पालैपिच्छे दास बन्ने त्यसको के स्वाभिमान ?

निशाचर सलबलाइरहँदा
गर्भमा रहस्य लुकाउने चटारो
होइन, सबै नै खसोखास छ अहिले
तर पनि मैले रहस्य नै बनाइदिएको छु
कसरी ?
किनकि म एक लहडी हुँ
मेरो लहडमा नै सबै चलेको छ अहिले ।

म सधैँ राम्रो, त्यसैले राम्रो ‘म’
कुनै बेला क्वार्टर देख्दा मुख रसाउँथ्यो
तर खल्ती खाली
साथीसंगी मिलाएर अलिकति चुस्नुपथ्र्यो
मेरो लहडले जब मलाई मुकाममा पुर्‍यायो
त्यसपछि कति खाएँ कति– बेहिसाब
तर रक्सी नखाने उद्घोष गर्ने म नै बनेँ
मेरो बन्नेहरूले खानै नसक्ने भनेर ठोकिदिए
भ्रष्टाचारको आहालमा डुबेको म
भ्रष्टाचारीको मुख हेर्ने नसक्ने भएँ
यो हो लहडको करामत ।

आचार, विचार, भ्रष्टाचार यी तपसिलका कुरा हुन्
अडियो, भिडियोसँग के मतलब ?
नदीको पानीजस्तो यी बगिरहेका छन्
सधैँ–सधैँ बगिरहन्छन्
मुसाले धान नखाए, बिरालोले दूध नखाए
के सृष्टि चल्छ ?
हामी जहाँ छौँ, सब त्यो सृष्टिभित्र नै हो
आवश्यक परेको अवस्थामा मुसाले मुसालाई पनि मार्छ
यो सृष्टिको रीत हो, सन्तुलनको कडी हो
नदीले नबगेर के स्थिर हुने त ?
मतलबको कुरा त मैले जे बोल्छु त्यो पो हो
मेरो लहड नै शासन हो

मलाई थाहा छ मैले पालेका कुकुरहरू
बफादार छन् भन्ने
यो पनि थाहा छ त्यसमा अवसरवादी पनि छन्
कुकुर हुनुको अर्थ नै जति बफादार त्यति अवसरवादी पनि
त्यसैले मैले तिनीहरूलाई डरमा राख्नैपर्छ
अनि अवसर पनि दिँदै जानुपर्छ
यसको लागि –
राज्यका अंगहरू कसको विरुद्ध कसरी प्रयोग गर्ने
त्यो कलाको गहिरो ज्ञान चाहिन्छ
सिक्न चाहन्छौ भने मसँग सिक ।

मैले जारी गरेको फर्मान तालीको गडगडाहटमा गुन्जिँदा
मेरो लहड नै शासनको उज्यालो बन्छ
केवल त्यो मात्र हो –
यिनको भविष्य हेर्ने आँखाको नानी
धन सम्पत्तिको अपार खानी
न कि घारमा बस्नै नपाउने रानी !