देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अजम्बरी कविता

देशान्तर

प्रकाशचन्द्र खतिवडा

शब्दहरू बेअर्थ छरिएका छन्
म शब्द बटुलेर कविता लेख्छु
मैले लेखेका कविता
अकविता भनिन्छ
भावनाहरू दमित बनाइएपछि
म कुण्ठा पालेर
हाँसो लुटाई
रुँदै जिन्दगी घसारी बस्छु ।

आमा भन्नुहुन्छ
शब्दहरू जोड
भावहरू खुलाऊ
अलंकारहरू हाल
र कविता लेख
कविता आगोजस्तो बल्नेछ
तिमी आगोकै कविता लेख
आगो र पानी मिलेपछि
तिम्रो कवितामा
पानी पनि दनदनी दन्कँदो हो
दन्कन देऊ कविता
पाखण्ड भष्म हुने गरी ।

आमाका मन डसेर
कपुतहरू गोमनजस्तो फणा उठाइरहेछन्
दशधारा दूधको ऋण तिर्न नसकी
आमालाई सरापिरहेछन्
हामी कति अविवेकी सन्तान ?
आफ्नै आमाका सपना खोसेर
आमालाई उदास बनाई
पुरुषार्थको डम्फु बजाइरहेछौँ
आमा रुँदै बसेकी छिन्
हाम्रो मूर्खता देखेपछि ।

बाँच्ने क्रम टुंगिगएर मान्छेहरू मर्ने गर्छन्
मान्छेहरू कालको चक्रव्यूहमा फसेका छन् निरन्तर
अस्तित्वमाथि खेलबाड नगरे हुन्थ्यो
जिन्दगी बन्धकी राखेर
हामी मुर्दा हाँसो हाँसिरहेका त छैनौँ ?

कविता लेख्नु पाप होइन भन्ठानेथेँ
मलाई भन्नेहरू पापी भन्छन् रे
त्यो फुसुण्डो कविता लेख्ने रे
मेरो खिसिट्युरी गर्दै हिँड्छन रे तिनीहरू
मन च्यातेर देखाउन नमिल्दो रहेछ
आरोपीहरूको आँखामा
म अटाउनैपर्छ भन्ने पनि त केही छैन
म कविता नलेखेर
के अविता लेखुँ ?
म जवाफ खोजिरहेछु
नाजवाफ छन् मान्छेहरू ।

विरोधको पनि एउटा सीमा हुनुपर्ने
विरोध थेग्न नसक्नेले
विरोधको स्वर किन उराल्नु ?
लुट्नेहरू सर्वस्व लुटिरहेछन्
निमुखाहरू मर्ने गरी
आफ्नो भन्ने क्षण गुमेर पनि
जिन्दगी च्यात्न सकिएको छैन
परिस्थिति अनुकूल नहुँदानहुँदै
परिस्थितिसँगै डोरिनुपर्छ मान्छेहरूले
परिस्थितिलाई काबुमा राखेर
विद्रोहको स्वर उराल्नुपर्ने ।

हाँसो खोसिएपछि
रुवाइका नमिठा पलहरूमा गुज्रार्नु पर्ने रहेछ जिन्दगानी
रुवाइ कवितामा पोख्न मन थिएन
पोखियो छताछुल्ल हुने गरी
मैले धेरै आँसु बगाएँ होला
आँसुको मूल्य हुनुपर्ने
हारेर हैरान छ जिजीबिषा
जित्न जुर्र्मुराउनुपर्ने ।

घाँटीमा अड्किएको छ हाँसो
मनमौजी हाँस्नलाई
जीवन एउटा संयोग न हो
संघर्ष गर्दै बाँच मैनावती
तिम्रो जीवन अधुरै होला
घनश्यामलाई नभेटे पछि ।

कविता नलेख्नु पर्ने रहेछ
अनाहकमा दोष बोकी
मृत्युको आमनेसामने उभिएको छ जिन्दगी
आरोप स्वीकार गरी
म अजम्बरी कविता लेख्दै छु
मृत्युलाई पछारेर ।

                                सुन्दरहरैंचा –०६, दुलारी, मोरङ
                                ९८४२०७३५२५