देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राधे–राधे स्थित रोयल थाई हस्पिटालिटीमा नेपाली र थाई परिकारको संयुक्त खाना महोत्सव

देशान्तर


भक्तपुर । भक्तपुरको राधे–राधे स्थित रोयल थाई हस्पिटालिटीमा आगामी भदौ ४ गतेदेखि आयोजना हुने ‘भोजन लिपि स्वाद’को छैटौँ संस्करणमा नेपाली परिकार ‘गुन्द्रुकको सुप’ र थाई परिकार ‘तोमयाम सुप’ पहिलो पटक एउटै मेनुमा राखेर प्रस्तुत गरिने भएको छ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेपाली खाना प्रवर्धन अभियानका संयोजक देवीप्रसाद सापकोटाले यसअघि नेपाली परिकारमा मात्र केन्द्रित कार्यक्रमलाई यस संस्करणमा थाई परिकारसँग संयुक्तरूपमा प्रस्तुत गर्न लागिएको जानकारी दिनुभयो। करिब १ दर्जन नेपाली र थाई परिकार प्रस्तुत गरिने उहाँले बताउनुभयो।

रोयल थाई हस्पिटालिटीका सञ्चालक सेफ गणेश ढकालले यो नेपालमै पहिलो पटक नेपाली र थाई परिकारको संयुक्त उत्सव हुने बताउनुभयो। उहाँका अनुसार नेपाली उत्पादन ‘गुन्द्रुक’लाई विश्व बजारमा चिनाउनका लागि यस्ता अभियान आवश्यक छन्। सो अवसरमा हरितालिका तीजको अवसरमा महिलाहरूका लागि विशेष ‘दर’ कार्यक्रम पनि राखिनेछ।

वरिष्ठ सेफ गोविन्द नरसिंह केसीले नेपाली खानालाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सबै निकायले मिलेर मिहिनेत गर्नुपर्नेमा जोड दिनुभयो। ‘भोजन लिपि स्वाद’का सर्जक सेफ घनश्याम कँडेलले तारे होटेलका मेनुमा नेपाली परिकारको उपस्थिति बढाउन यो अभियान अघि बढाइएको प्रतिबद्धता जनाउनुभयो।

युवा सेफ विक्रम भिक्स, इङ्वा सुब्बा, मानबहादुर तामाङलगायतले पनि नेपाली खाना प्रवर्धनमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। यसअघि नेपाली खाना प्रवर्धन केन्द्रित पाँच संस्करण सम्पन्न भइसकेको ‘भोजन लिपि स्वाद’ यसपटक रोयल थाई हस्पिटालिटीसँग सहआयोजनामा हुने भएको हो।

कार्यक्रममा नेपाल र थाइल्यान्डका उच्च अधिकारीहरूलाई पनि आमन्त्रण गरिने आयोजकहरूले जनाएका छन्।