वसन्त लोहनी
चार वर्षअघि प्रकाशित एउटा कविताको खुलासा—
‘त्यसैले म भन्छु–अबको सरकार चक्रे मिलनका’
आज म त्यही कुरा दोहोर्याउन चाहन्छु,
किनकि त्यो बेलाभन्दा अहिलेको स्थिति
धेरै नाजुक भइसकेको छ ।
अब ‘मुलुकलाई के भएको छ र ?’ भनेर हुंकार गर्ने भन्दा,
मुलुकलाई के भएको छैन ? भनेर प्रश्न गरौँ—
उत्तर घामजत्तिकै छर्लंग देखिन्छ ।
निदाएको जस्तो गरेर,
नदेखेको जस्तो गरेर,
मुलुकको तागत सोसेर सुनगाभा बनेकाहरूलाई
के थाहा, हामी सबैको छहारी बनेको रुख
कति जीर्ण भइसकेको छ भनेर ?
उनीहरूको काम त
जति सक्दो चुस्नु हो रुखलाई—
ढकमक्क फुलेर, गमक्क परेर,
त्यसैलाई ‘रूपान्तरण’ भन्छन् ।
अब त झन् प्रस्ट भयो—
सपना बेच्ने यी फटाहा नाइकेभन्दा
गुन्डा नाइके हितकर हुन सक्छन् ।
गुन्डा नाइकेले सिंगो मुलुकको सर्वनाश गर्दैन,
तर फटाहा नाइके शासकले गरिरहेका छन् ।
प्रतिदिन ८ लाख खर्च हुने संसद्
गालीगलौजको थलो बनेको छ ।
नपत्याए—प्रधानमन्त्री ओलीको गोली बनेको
लामो गालीगलौज सुन्नुहोस्,
अझै नपत्याए—संसद्को रेकर्ड हेर्नुहोस्, सुन्नुहोस् ।
गफ ‘विकास र समृद्धि’को—
तर विकास गर्न सकेपछि मात्र समृद्धि आउँछ,
विकासको सोचसम्म छैन,
कर्मकाण्डबाहेक ।
फगत हावा भरिएका रंगीचंगी बेलुनजस्ता गफ,
समयमै मल दिन नसक्ने निकम्मा सरकार—
थाहा छ नि, प्रत्येक वर्ष ठिक समयमा दिनुपर्छ भनेर !
तर कमिसनको चक्करमा भत्काइएको प्रणालीबाट
के डेलिभरी आउला र ?
स्विस बैंक र कम्बोडियामा रकम बढाउनेबाहेक ।
समृद्धिको कुरा छाडौँ—
सरकार नभए पनि आफैँ हुने विकासबाहेक
खै सोच विकासको ?
सोच र सुझबुझका लागि खै समय ?
समय त सकिन्छ—
अझ राज्यलाई चुस्ने उपाय सोचेर,
कर मिनाहा गरेर वा बिजुलीको बक्यौता नलिएर,
घात–प्रतिघात र षड्यन्त्र गरेर,
कानुन संशोधन गरी अझ लुट्ने उपाय खोजेर ।
भ्रष्टाचारलाई आचरण बनाएकाहरू भन्छन्–
भ्रष्टाचार रोक्न आचरण बदलिनु पर्छ
हत्यामा फरारलाई पार्टी प्रवेश गराउनेहरू भन्छन्–
अपराध नियन्त्रण हुनै पर्छ
बौद्धिक पलायन गराउनेहरू भन्छन्–
मुलुकभित्र काम गर्ने वातावरण बनाउनु पर्छ
भो! केही लाग्छ अब।
जहाँ राज्यको विधि भत्काउन सक्ने मानिसलाई
माथबरी मानिन्छ,
त्यहाँ जसले शासन गर्ने हैसियत बनाएको छ ।
अनर्थ हो यो नयाँ राज्य सञ्चालकहरूको—
जसरी जनताको सर्वोच्च अभिव्यक्तिको थलो
‘कानुनसम्मत’ भ्रष्टाचारको कारखाना बनाइयो ।
कसरी संवैधानिक नियुक्ति आफूखुसी गर्ने ?
विधिकर्ताको निर्णयविपरीत कानुन पास गर्ने ?
त्यो थलो नै बनेको छ ।
त्यहाँ ‘राजीनामा’को के अर्थ ?
अपराधको दस्तखत गर्नेले भन्छ—
‘त्यहाँ मेरो नाम छैन’,
प्रतिप्रश्न गर्छ–‘नाम नै नभएको म कसरी अपराधी ?’
राज्य लुट्नेले गर्वपूर्वक भन्छ—
‘मैले कानुन बनाएर गरेको हुँ,’
राज्यको शक्तिलाई निर्धक्क प्रयोग गरेर
मानव तस्करी गर्नेले पनि पानीमाथिको ओभानो भएर भन्छ—
‘संसद्लाई ब्ल्याकमेलको थलो बनाए ।’
यिनीहरूको लफ्फाबाजीमा,
यिनीहरूको तल्लोस्तरको गालीगलौजमा,
यिनीहरूको लुटपाटमा—
सिंगोे मुलुक यसरी सकिन सक्दैन ।
अब अनर्थभित्र अर्थ खोज्ने बेला भएको छ—
चेतना भए ।





प्रतिक्रिया