वसन्त लोहनी
मिथ्या कुरा– माकुरो
मान्छेभन्दा धेरै अगाडिको प्राणी
मान्छे केही लाख वर्षअघिदेखि यो धर्तीमा
माकुरोको बसोवास ३० करोड वर्षअघिदेखिको
यो सृष्टि–मण्डलमा माकुरोभन्दा धेरैपछि मात्र आएको मान्छे
माकुरोसँग सँगसँगै बस्दै आएको छ – एउटै घरमा, एउटै आँगनमा ।
मानव सृष्टिदेखि नै मान्छेले सिकेको आफ्नो वरिपरिबाट
ती अग्ला–होचा पहाडहरू – हिउँले ढाकिएका या हरियालीले,
पग्लेको हिउँ, बगेको पानी, नटुंगिने ती फाँटहरू,
अनवरत अग्लिन खोजेका जलराशिहरू,
आफूभन्दा अगाडिका या आफू पछि आएका प्राणीहरूबाट
यसरी मान्छेले जिउन सिक्दै गयो
जिउनको लागि युद्ध–कौशल सिक्यो विभिन्न जनावरहरूको व्यवहारबाट
र हरेकले बाँच्नको लागि गरेको संघर्षबाट ।
यसरी क्रमबद्ध भएको समयमा
मान्छेले माकुरोसँग पनि धेरै सिक्यो,
त्यो हो – कसरी अलमलाउने, कसरी अरूलाई दिग्भ्रमित पार्ने ।
विश्वभर छरिएका हजारौँ प्रजातिका माकुराहरू,
मूलतः अष्टपाद र अष्टलोचन ।
दुष्टता समान छ सबको ।
आफ्ना चाँडो–चाँडो चल्ने खुट्टाहरूबाट
चिप्लो निकालिरहन्छन्,
जालो बनाउने रेशम निकालिरहन्छन् ।
उसको ताकत भनेको चिप्लोबाट यस्तो जालो बनाउन सक्नु हो ।
त्यो जालोभित्र अनेक भुलभुलैया हुन्छन् –
झुक्याउने, अल्झ्याउने र निर्धोको सिकार गर्ने ।
यसरी माकुरोले आफ्नो साम्राज्य चलाएको हुन्छ ।
उसको साम्राज्यलाई कसैले चुनौती दियो भने
विषालु दाँतले आफ्नै दौतरीको पनि हत्या गर्न सक्छ ।
माकुरोले खुट्टाबाट निकालेको चिल्लोजस्तै
हाम्रो मुलुकमा साम्राज्य चलाउनेहरूले
मुखबाट चिल्लो निकाल्छन् ।
माकुराको विषालु चुच्चा
समान छन् यी मुखले जनतालाई चिल्लो घस्ने लुच्चाहरू ।
उस्तै–उस्तै छन् जालो बुन्नमा ।
माकुराले चिप्लोबाट जालो बुन्ने रेशम निकालेजस्तै
चिप्ला कुराबाट यी जालो बुन्ने मिथ्या निकालिरहेका छन् ।
यी कोखामा दाँत भएकाहरू
मुखले चिप्लो बोलेर जनताको डँडाल्नो भाँच्छन्,
मुलुक कंगाल पार्छन् ।
गरिबभन्दा गरिबलाई कुराको जालोमा फसाएर राज गर्छन् ।
लोकतन्त्र र ऐतिहासिक संघर्षको बखान गरेर
प्रत्येक पार्टी कब्जा गरेकाहरूले
जनताको नाममा अष्टलोह ठानेका छन् पार्टीलाई ।
अर्थात् रिझाउन सक्नेले शेषपछि मात्र खान पाउने सम्पत्तिसरह ।
माकुरोको जालो जस्तै मिथ्या कुराको जालो नभत्किएसम्म
माकुरो साम्राज्य सरहको यो जनतामारा राज
चलिरहन्छ, चलिरहन्छ ।





प्रतिक्रिया