देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मन्त्री खड्काको नेतृत्वमा विद्युत निर्यातमा नयाँ रेकर्ड कायम: दैनिक ११३० मेगावाटभन्दा बढी विद्युत निर्यात

देशान्तर

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालको विद्युत निर्यातमा नयाँ रेकर्ड कायम भएको घोषणा गरेका छन्। उनको नेतृत्वमा हालसम्मकै सबैभन्दा बढी दैनिक ११३० मेगावाटभन्दा बढी विद्युत भारत र बंगलादेशमा निर्यात भइरहेको छ।

मन्त्री खड्काका अनुसार, यही निर्यात दर कायम राख्न सकेमा नेपालले वार्षिक करिब ८६ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्नेछ। यसबाट कुल ९ अर्ब ९० करोड ६ लाख युनिट विद्युत बिक्री हुनेछ।

मन्त्री खड्काले ‘उर्जा मार्गचित्र-२०८१’ सहित दीर्घकालीन र स्पष्ट लक्ष्य तय गरिएको बताए। यसअनुसार, सन् २०३५ सम्ममा नेपालमा कुल २८,५०० मेगावाट विद्युत उत्पादन गर्ने र त्यसमध्ये १५,००० मेगावाट निर्यात गर्ने महत्वाकांक्षी योजना बनाइएको छ। यस अन्तर्गत, भारतलाई १०,००० मेगावाट र बंगलादेशलाई ५,००० मेगावाट विद्युत निर्यात गर्ने ठोस लक्ष्य राखिएको छ।

हालको ११३० मेगावाटभन्दा बढी विद्युत निर्यातलाई उनले नेपालको ऊर्जा आत्मनिर्भरता, दिगो आर्थिक विकास र क्षेत्रीय ऊर्जा सहकार्यतर्फको महत्वपूर्ण कदम भएको बताए। यस ऐतिहासिक सफलतामा सहयोग पुर्‍याउने सम्पूर्ण संघ–संस्था र कर्मचारीहरूलाई मन्त्री खड्काले धन्यवाद ज्ञापन गरे।

आगामी दशकभित्र नेपाललाई ऊर्जा उत्पादन र निर्यातको क्षेत्रीय शक्ति राष्ट्र बनाउने लक्ष्य पूरा गर्न सबै पक्षको एकता, सहकार्य र साझा प्रतिबद्धता अपरिहार्य रहेको उनले बताए। सबैको समन्वय र संयुक्त प्रयासबाट यो लक्ष्य अवश्य पूरा हुने उनको दृढ विश्वास छ।