देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

होटल व्यवसायलाई उत्पादनमूलक उद्योगसरह सुविधा

देशान्तर

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले होटल व्यवसायलाई उत्पादनमूलक उद्योग सरह सुविधा दिइने बताएका छन्।

जिल्ला होटल व्यवसायी सङ्घले आज मन्त्रालयमा बुझाएको ज्ञापनपत्र बुझ्दै उनले पर्यटनसँग प्रत्यक्ष रूपमा जोडिएको संवेदनशील क्षेत्र भएकाले यसलाई उत्पादनमुखी उद्योगको श्रेणीमा राखेर सुविधा दिने विषयमा सरकार लागेको बताए।

मन्त्री खड्काले पर्यटन र होटल व्यवसाय देशको अर्थतन्त्रलाई टेवा दिने क्षेत्र भएकाले यसको प्रतिस्पर्धात्मक क्षमता बढाउन उत्पादनमूलक उद्योगसरह आवश्यक सहुलियत दिनेबारे सरकार सकारात्मक रहेको उल्लेख गरे।

सङ्घले होटल व्यवसाय निरन्तर घाटामा गइरहेको र सञ्चालन खर्च धान्न कठिन भइरहेको भन्दै विद्युत् महसुल उत्पादनमुखी उद्योगसरह छुटको व्यवस्था गर्न मन्त्रीसमक्ष आग्रह गरेको थियो।

सङ्घका अध्यक्ष सुरेश बरालले पर्यटन क्षेत्रलाई राजस्व आर्जन गर्ने मात्र नभई विदेशी मुद्रा भित्र्याउने, रोजगारी सिर्जना गर्ने र नेपाल चिनाउने माध्यमका रूपमा योगदान पुर्‍याएको भन्दै होटललाई विशेष सुविधा दिनुपर्ने माग गरे।

सरकारले चालू आवको बजेटमा होटल र रेस्टुराँलाई उत्पादनमुखी उद्योग सरह मान्यता दिँदै विद्युत् महसुलमा छुटको व्यवस्था गर्ने घोषणा गरे पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको सङ्घको गुनासो छ।

अध्यक्ष बरालले हालको आर्थिक मन्दी र निराशाजनक व्यावसायिक अवस्थाबीच होटल व्यवसायीलाई विद्युत् महसुल छुटले ठूलो राहत दिने विश्वास व्यक्त गरे।