देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री राजीनामा देऊ, ‘अर्ली इलेक्सन’ गर : रास्वपा

देशान्तर

काठमाडौँ । रास्वपाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै ताजा जनादेश(अर्ली इलेक्सन) को माग गरेको छ । महामन्त्री कवीन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गर्दै सोमबार जेन-जीको प्रदर्शनमा सरकारले गरेको दमनको भर्त्सना गरेको छ ।

वर्तमान सरकारको औचित्य पूर्ण रूपमा समाप्त भएको उल्लेख गर्दै महामन्त्री बुर्लाकोटीले भनेका छन्, ‘वर्तमान सरकारको औचित्य पूर्णत: समाप्त भइसकेको परिप्रेक्ष्यमा प्रधानमन्त्रीको तत्काल राजीनामा माग्दछौँ । साथै घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी गृहमन्त्रीलगायत सबै दोषीमाथि कडा कारबाही गर्न माग गर्दछौँ ।’

त्यस्तै रास्वपाले कांग्रेस-एमाले सरकारले कुनै पनि राष्ट्रिय मुद्दाको हल गर्न असफल भएको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस र नेकपा एमालेको वर्चस्व रहेको वर्तमान संघीय संसद्ले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको निष्कर्षमा पुग्दै ताजा जनादेशको माग गर्दछौँ ।’

वर्तमान सरकारको जनप्रतिवाद हुने पनि रास्वपाको चेतावनी छ, ‘आफ्नै सन्तानको रगतमा लत्पतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले सहने छैनन् र यो आततायी शासनको जनप्रतिवाद हुनेछ ।’