देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मेरो घर जलिरहेको छ

देशान्तर

रूपान्तरण गर्न आएकाबाट बनेको त्रिमूर्ति
लुट्ने अभियानमा सधैँ मिलेमतो
तर सधैँको प्रतिस्पर्धा केवल पोलपोट हुनका लागि
तन्नेरीको ज्यानलाई मरुभूमिमा निर्यात गरेर
यस्तो निर्यातप्रदत्त आम्दानीबाट
मस्तसँग लुटिरहेको
मलाई ऋणमाथि ऋण बोकाएर
अहिले मेरो घर जलिरहेको छ ।

यसरी मलाई कंगाल पार्दै जाँदा पनि
आफ्नो सानो घरमा दुःख–सुख सहेर खपेर
मिठो–मसिनो जे छ त्यसैमा गुजारा गरिरहँे
ठालुहरूले आफ्नै घर लुट्न थालेपछि
आफ्नै घरको दलिन बालेर आगो ताप्न थालेपछि
म निसास्सिएर कराएँ
मेरा बालबच्चाहरू झन् कराएर बाहिर निस्किए
त्यसको नेपथ्यबाट आएकाहरूले मेरो घर जलाइदिए
अहिले मेरो घर जलिरहेको छ ।

आफैँ खाऊ आफैँ मात्र बाँचूँ भन्ने ठालुहरूले
बकमफुसे गफ दशकौँदेखि गरिरहेका
समाजवादको च्यातिएको ढोलक ठटाएर
केही दिएनन् सिवाय अँध्यारो
मलाई निरीह पारिरहँदा पनि म सहेरै बसेँ
अहिले मेरो घर जलिरहेको छ ।

इन्टरनेटसँगै हुर्केका मेरा नाति–नातिनी पुस्ताका लागि
माछाका लागि पानीजस्तो सामाजिक सञ्जाल यिनका लागि
यसैबाट सिक्दै गए, यसैसँग खेल्दै गए
यसैबाट साथीभाइसँग संवाद पनि गर्दै गए
भाइचारा पाए, प्रीति गाँसे, सपना खोजे
तर यो सामाजिक सञ्जालमा
जब यी अपराधीको आलोचना बढ्दै गयो
त्यो सामाजिक सञ्जाल पनि खोसेर लगे
अहिले मेरो घर जलिरहेको छ ।

यो त खोस्न पाइँदैन भनेर आवाज निकाल्दा
स्कुलबाट फर्किरहेका स्कुल ड्रेसकै ती बालबालिकामाथि
गोली चलाएर हत्या गरे
चित्कारको नेपथ्यबाट संगठित भएर आएकाले
मेरो घर जलाइदिए
मेरो घर जलिरहेको छ ।

अहिले म आँखाबाट होइन मुटुबाट रोइरहेको छु
यो पीडालाई शब्दले के समात्न सक्छ र ?
अहिले मेरो घर जलिरहेको छ ।

मेरो आकाशमुनि, मेरो आकाशमाथि
यो के भइरहेको छ ?
निर्दोष बालबालिकाको आवाजको नेपथ्यबाट
योजनाबद्ध निस्केका संगठित परिचालितहरूले
हो, मेरो घर जलाइदिए
बालकसरह असहाय बनेको छु जलेको आफ्नो घर हेरिरहेको छु
अहिले मेरो घर जलिरहेको छ ।

मेरो आकाशमा धुवाँको मुस्लो छ
त्यो कालो मुस्लोमा चारैतिर
गिद्धहरू उडिरहेका छन्
घनीभूत हुँदै फैलिएको त्यो मुस्लोभित्र
हो, उडिरहेका छन् नदेखिने भएर तिनका तीखा आँखाहरू केवल मेरो घरमा हेरिरहेका
अहिले मेरो घर जलिरहेको छ ।

जंगल, पहाड, चट्टान र गुफामा
सुरुङ र हरियाली फाँटहरूमा
हुर्काइरहेका बचेरा गद्दाहरूलाई
आफैँले आधा पचाएको खाना खुवाएर
मेरा संवेदनाहरूलाई लुछेर खान
मेरो घर चलिरहेको छ
हो, अहिले मेरो घर जलिरहेको छ ।