देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चुच्चेपाटीस्थित भाटभटेनीमा ६ वटा शव फेला

देशान्तर


काठमाडौं । जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले आगजनी गरेको चुच्चेपाटीस्थित भाटभटेनी सुपर मार्केटमा आइतबार बिहान सफा गर्ने क्रममा ६ वटा शव फेला परेको छ ।

शव पूर्णरुपमा डढेकाले पहिचान हुन नसकेको काठमाडौं प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको पनि प्रहरीले जनाएको छ।

जेन–जी आन्दोलनका क्रममा काठमाडौंसहित देशका विभिन्न स्थानमा रहेका भाटभटेनी सुपरमार्केट्सका २८ स्टोरमध्ये सातबाहेक सबैमा आगजनी, तोडफोड र लुटपाटले क्षति पुगेको भाटभटेनीले जनाएको छ । भाटभटेनीका २८ स्टोरमध्ये १२ वटा स्टोरमा पूर्ण आगजनी गरिएको छ। नक्साल, महाराजगन्ज, बौद्ध, कोटेश्वर, बालुवाटारस्थित वेयर हाउस, पोखरा, चितवन, हेटौंडा, बिर्तामोड, दमक, विराटनगर र धरानस्थित स्टोरमा लुटपाट र आगजनी गरी पूर्ण नष्ट गरिएको कम्पनीले जनाएको छ ।

त्यसैगरी कलंकी, थिमी, बालाजु, जनकपुर, बुटवल, वीरगन्ज, धनगढी, इटहरी र भैरहवास्थित स्टोरमा तोडफोड गरेर अधिकांश सामग्री लुटपाट भएको छ । बाँकी सात स्टोर — टोखा, सातदोबाटो, अनामनगर, सानागाउँ, त्रिपुरेश्वर, पाटन र नेपालगन्जमा भने क्षति नपुगेको कम्पनीले जनाएको छ ।