काठमाडौँ — बाँकेकी महिला नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणमा सरकार र महिला अधिकारकर्मीबीच वार्ता सुरू भएको छ । धोबी र कुर्मी प्रकरणमा गहिरो अनुसन्धान र दोषीलाई कारबाहीको माग गर्दै नेपालगञ्जदेखि २० दिन पैदल हिँडेर काठमाडौं आएका अधिकारकर्मी र आफन्तले माइतीघरमा १२ दिनदेखि धर्ना दिइरहेका छन् भने आन्दोलनको नेतृत्व गरिरहेकी रुबी खान १० दिनदेखि आमरण अनशनमा बसेकी छिन् ।
उनीहरुका माग सम्बोधन गर्ने सन्दर्भमा माइती नेपाल र गृह मन्त्रालयले संयुक्त पहल थालेका हुन् । दिनभर माइतीघरमा बसेर धर्ना दिने महिला अधिकारकर्मी र आफन्तलाई शनिबारदेखि माइती नेपालले आश्रय दिएको थियो । सोमबार बिहान माइती नेपालकै कार्यालयमा पुगेर सरकारका तर्फबाट गृह सचिव टेकनारायण पाण्डे र प्रवक्ता फणिन्द्रमणि पोखरेलले संघर्षरत अधिकारकर्मीहरु र आफन्तसँग छलफल गरेका छन् । अहिले पनि निरन्तर छलफल चलिरहेको महिला अधिकारकर्मी मोहना अन्सारीले जानकारी दिइन् ।
प्रहरीले अहिले नन्कुन्नीका श्रीमान् र जेठाजुलाई मात्रै पक्राउ गरेको छ । त्यस्तै, निर्मला कुर्मीको अपहरण, शरीर बन्धक बनाई बेपत्ता पारिएको विषयका दोषीहरुलाई समेत पक्राउ गरी कारबाही गर्नुपर्ने माग रहेको बताइन् । नन्कुन्नी र निर्मलाको न्यायका लागि नेपालगञ्जमा १९ दिनसम्म जिल्ला प्रहरी कार्यालयअगाडि धर्ना दिएका उनीहरु २१ असोजमा २० दिन पैदल हिडेर काठमाडौं आइपुगेका थिए ।





प्रतिक्रिया