कञ्चनपुर – महाकाली नदी बस्तीमा छिर्नबाट रोक्नका लागि अस्थायी तटबन्ध निर्माण सुरु गरिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरू तटबन्ध निर्माणमा जुटेका छन्।
भीमदत्त नगरपालिका १२ भुजेल ऐरीघाट क्षेत्रमा तारजालीमा ढुङ्गा राखेर तटबन्ध निर्माण कार्य अगाडि बढाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए।
‘पहुँच मार्ग तोडेर बस्तीमा छिरेको नदीको बहाव रोक्नका लागि तटबन्ध निर्माणको कार्य भइरहेको छ’‚ उनले भने, ‘ढुङ्गा, बालुवा, गिट्टी र माटो प्रयोग गरी बिहानैदेखि तटबन्ध निर्माणमा जुटेका छौं।’
नदीको थप पानी बस्तीमा छिर्नबाट रोक्न तटबन्ध निर्माणमा जोड दिइन थालेको उनले बताए। तटबन्ध निर्माणको कार्यमा तीन सयभन्दा बढी जवान परिचालन भएका छन्।
तत्काल बाढीको जोखिमयुक्त क्षेत्रमा सय मिटर तटबन्ध निर्माण गरिन लागेको सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताए। पानी पर्ने क्रम रोकिएसँगै महाकाली नदीको बहाव घट्न थालेको छ।





प्रतिक्रिया