देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उद्धार, राहत र पुनस्स्थापनामा तीव्रता दिन मावन अधिकार आयोगको आग्रह

देशान्तर

काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले बाढी पहिरोबाट प्रभावितहरुको उद्धार, राहत, पुनस्स्थापना र मनोसामाजिक परामर्शमा तीव्रता दिन आग्रह गरेको छ ।

आयोगले बुधबार विज्ञप्ति जारी गर्दै ३ दिनदेखि अविरल वर्षाका कारण देशभरका बाढी पहिरो प्रभावितहरुको उद्धार, राहत, पुनस्स्थापना र मनोसामाजिक परामर्शमा ध्यान दिन सरकारलाई आग्रह गरेको हो ।

आयोगले मानव अधिकारका अन्तर्राष्ट्रिय मापदण्डहरुले निर्दिष्ट गरेअनुरुप व्यक्तिको जीऊधनको सुरक्षा, आधारभूत आवश्यकता परिपूर्ति लगायत विपद्को अवस्थामा आवश्यक अन्य मानव अधिकारको सुनिश्चितता गर्ने कार्यमा सरोकारवाला सबैको ध्यानाकर्षण गराएको छ ।

‘प्राकृतिक विपद्बाट हुन जाने थप जोखिमको न्यूनीकरण गर्न, विपद् प्रभावितहरुको खोज, उद्धार, उपचार, मनोसामाजिक परामर्श र पुनर्स्थापनामा सरोकारवालासँग समन्वय र सहकार्य गरी नागरिकको जीऊधनको रक्षा गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ,’ आयोगका प्रवक्ता टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आयोगले आफ्नो अनुगमनबाट बाढी पहिरोका कारण विभिन्न जिल्लामा मानवीय तथा भौतिक क्षति पुगेको, धानबालीलगायत कृषिजन्य उत्पादन र पशुपंछी नष्ट भएको र तराईका विभिन्न स्थानमा घरहरु डुबानमा परेको, सुदूरपश्चिमका अधिकांश जिल्लामा यातायात, टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको जनाएको छ ।