देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

इलाममा पहिरोबाट मृत्यु हुनेको संख्या १३ पुग्यो

देशान्तर

इलाम — लगातारको वर्षापछिको पहिरोका कारण इलाममा मृत्यु हुनेको संख्या १३ पुगेको छ । जिल्लाको फाकफोकथुम गाउँपालिकामा एकै परिवारका ४ सहित ६ जनाको पहिरोले पुरिँदा ज्यान गएको छ । प्रहरीका अनुसार फाकफोकथुम ३ आम्चोकको सल्लेरीमा घरमाथिको ढिस्को खस्दा ८६ वर्षीय नैनसिंह कटुवाल, ७५ वर्षीया रनदत्ता थापा, १५ वर्षीया निशाना कटुवाल र १३ वर्षीय निश्चत कटुवालको ज्यान गएको हो ।

‘घरको भूइँतलामा सुतेका उनीहरुलाई पहिरोले पुर्दा ज्यान गएको थियो । माथिल्लो तलामा सुतेका समीक्षा र गोमा कटुवाल भने बच्न सफल भएका छन् । ‘पहिरोले घरलाई धक्का दिँदा माथिल्लो तलामा सुतेका २ जनालाई उछिट्याएर बाहिर फाल्दा बाँच्न सफल भएका हुन्,’ स्थानीय उद्धव लामिछानेले भने ।

माङसेवुङ गाउँपालिका ६ को पञ्चमी बजार नजिक पहिरोमा पुरिएकामध्ये २ जनाको शव निकालिएको छ । घरमै पहिरो झर्दा ५५ वर्षीय हरिप्रसाद राई र २७ वर्षीय कमला राईसहित ५ जना पुरिएका थिए । २ को शव भेटिएको र अन्य ३ जना सख्त घाइते अवस्थामा उद्धार गरिएको साहयक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईंले जानकारी दिए । घाइते भक्तकुमार राई, जनम राई र चन्द्र लिम्बुलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत धरानको घोपा लाने तयारी भइरहेको उनले जानकारी दिए । प्रहरी र स्थानीयवासीको सक्रियतामा सबै शव पहिरोबाट निकालिएको छ ।

यस्तै फाकफोक गाउँपालिकाकै १ नम्बर वडा ठिङ्गेपुरमा पहिरोले पुर्दा २ जनाको मृत्यु भएको छ । मंगलबार साँझ साडे ७ बजेतिर नरबहादुर शेर्माको भान्सामा रहेका ४ जनालाई पहिरोले पुरेको थियो । स्थानीयले तत्काल उद्धार गरेर २ जनालाई बचाए पनि ३० वर्षीया विना शेर्मा लावती र १४ वर्षीय आइतबार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ४० वर्षीय नरबहादुर र १८ वर्षीय खगेन्द्र शेर्मा सकुशल छन् ।

सूर्योदय नगरपालिका ३ जिलमा घरमा पहिरो खस्दा ३८ वर्षीया विष्णुमाया तामाङ र १७ वर्षीय विशाल तामाङको ज्यान गएको छ । सूर्योदय नगरपालिका ३ मेहेलबोटेमा राति गएको पहिरोले सुतेकै अवस्थामा ४९ वर्षीया नारायणीदेवी मोतेको मृत्यु भएको छ । अन्य ३ जनाको सकुशल उद्धार गरिएको छ ।

यस्तै देउमाई नगरपालिका २ बस्ने ४५ वर्षीय सरिता आचार्यलाई लुटिया खोलाले बगाउँदा ज्यान गएको छ । सोमबार साँझ ८ बजेदेखि आएको निरोधार झरीका कारण दर्जन बढी घर विस्थापित भएका छन् । थुप्रै पशु बगाएको र पुरिएको प्रहरीले जनाएको छ ।