देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चाँगुनारायण नगरपालिका क्षेत्रभित्र बङ्गुर पाल्न नपाइने

देशान्तर

ललितपुर – चाँगुनारायण नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्रभित्र फार्म सञ्चालन गरी बङ्गुरपालन गर्न निषेध गरेको छ । नगर सभाले नगर क्षेत्रमा बङ्गुर फार्म सञ्चालन गर्न नपाइने निर्णय गरेको थियो । नगरपालिकाले हालै सूचना जारी गरेर आउँदो मङ्सिर ५ गतेभित्र सबै बङ्गुर फार्म हटाउन निर्देशन समेत दिएको छ ।

फार्मले नगरभित्र फोहर र प्रदूषण बढाएका, प्राकृतिक सौन्दर्यतामा असर पुर्याएको, खोलादेखि स–साना खहरेमा फोहर तथा ढल सिधै हाल्ने गरेको र बस्तीमा प्रदूषण फैलाएको जनाउँदै सञ्चालनमा रोक लगाएको सूचनामा जनाइएको छ ।

स्थानीय बासिन्दाले फार्मबाट फोहर र प्रदूषण बढेकाले त्यस्ता फार्म बन्द गर्न माग गर्न वडादेखि नगरपालिकासम्म दबाब दिएकाले नगर सभाले नै यस्तो निर्णय गरेपछि अहिले कार्यान्वयनमा ल्याएको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए ।

नगरपालिकाको प्रशासन शाखाका अधिकृत नीलाकुमारी घिमिरेले नयाँ बङ्गुर फार्म सञ्चालन नगर्न र सञ्चालनमा रहेका बङ्गुर फार्मलाई ३० दिनभित्र हटाउन निर्देशन दिँदै सूचना जारी गरेका छन् । आउँदो मङ्सिर ५ गतेभित्र त्यस्ता फार्म नहटाए कारबाही गर्ने उनले जानकारी दिए । अहिले चाँगुनारायणका विभिन्न ठाउँमा व्यावसायिक रूपमा बङ्गुर फार्म सञ्चालनमा छन् ।