खोटाङ – हङकङमा पत्रकारिता गर्दै आउनुभएका धरानका पत्रकार किसन राईको भिरबाट लडेर खोटाङमा मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१५ घर भई हाल हङ्कङमा बसेर पत्रकारिता गर्दै आएका थिए । ५३ वर्षीय पत्रकार राईको आइतबार साँझ यहाँस्थित पङ्खुखोला नजिकैको भिरबाट लडेर मृत्यु भएको हो ।
खोटाङबाट भोजपुर जानेक्रममा आइतबार साँझ करिब साढे पाँच बजेको समयमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पास्थित पङ्खुखोला नजिकैको भीरबाट लडेर पत्रकार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले बताए
“मृतक पत्रकार राई काठमाडौँको नागार्जुन नगरपालिका–२ बस्ने सशस्त्र प्रहरी बलका पूर्व प्रहरी उपरीक्षक ९एसपी० प्रेम श्रेष्ठसँग घुम्न आउनुभएको रहेछ”, उहाँले भन्नुभयो, “दिक्तेलबाट भोजपुर जानेक्रममा दोर्पास्थित पङ्खुखोला नजिकै गाडीबाट ओर्लिएर दिसा बस्न जानेक्रममा भीरबाट लडेर करीब २०० मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ ।”
हङकङबाट नेपाली भाषामा प्रकाशन हुने पत्रिका ‘एभरेष्ट साप्ताहिक’का प्रकाशक एवम् सम्पादक रहेका राईको शव परीक्षणका लागि आइतबार राति नै जिल्ला अस्पताल दिक्तेलमा ल्याएर राखिएको छ । पत्रकार राईको शव हङकङबाट आफन्त आएपछि परीक्षण गरेर जिम्मा लगाउने प्रहरीले जनाएको छ ।





प्रतिक्रिया