देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रिय सुस्त मनःस्थिति कल्याण संघको केन्द्रीय सभा सम्पन्न, १२ नयाँ कार्यसमिति चयन

देशान्तर

काठमाडौं– राष्ट्रिय सुस्त मनःस्थिति कल्याण संघको २४ औं केन्द्रीय सभाले लम्बोदर कायस्थको अध्यक्षतामा १२ सदस्यीय कार्य समिति सर्वसम्मतिले चयन गरेको छ ।

शनिवार काठमाडौंमा भएको केन्द्रीय सभापछि भएको निर्वचनमा सर्वसम्मति जुटेको नवनिर्वाचित महासचिव रविन्द्र के.सी.ले बताए ।

कायस्थको नेतृत्व रहेको नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा निर्मलकुमार श्रेष्ठ, महासचिवमा रविन्द्र के.सी. कोषाध्यक्षमा उर्गादेवी श्रेष्ठ, सचिवमा अगमकुमार पालिखे र सहकोषाध्यक्षमा विष्णुबहादुर श्रेष्ठ चयन भएका छन् । त्यस्तै सदस्यहरूमा सम्झना श्रेष्ठ, विश्वनाथ ओझा, गोपालप्रसाद निरौला, सपना बादे, राम श्रेष्ठ र निवर्तमान अध्यक्ष मुक्तिनाथ अधिकारी रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष कायस्थले शनिवार नै जिम्मेवारी सम्हाल्दै सुस्त मनःस्थितिका नागरिकहरूको कल्याणको विषय राज्यको प्राथमिकतामा पर्न नसकेको बताए । उनले आफ्ना कुराहरू अभिव्यक्त गर्न नसक्ने यो समूहको कल्याणको लागि गैरसरकारी पहलमात्र पर्याप्त नभएको बताए । उनले दिवा विद्यालयको गुणस्तर सुधार गर्नुपर्ने, छात्रवृत्ति रकम बढाउनुपर्ने र विशेष भत्ताको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको पनि बताए ।

जिम्मेवारी हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका निवर्तमान अध्यक्ष मुक्तिनाथ अधिकारीले बौद्धिक अपांगताको क्षेत्रमा थुप्रै सुधारका कार्यक्रम गर्नुपर्ने खाँचो रहेको उल्लेख गरे । उनले संस्थासँग उचित कार्यक्रम रहेको भए पनि दीगो आर्थिक स्रोतको जोहो हुन नसक्दा ती कार्यक्रमहरू सञ्चालन गर्न कठिनाई भएको बताए ।

उनले आफ्नो कार्यकालमा २०७६ सालमा नेपालमा एशियाली सुस्त मनःस्थिति महासंघको २४ औं सम्मेलन सफलतापूर्वक आयोजना गरी सीमित स्रोत र साधनका बीचमा थालिएका बौद्धिक अपांग नागरिकहरूको कल्याणका कार्यक्रमप्रति एशियाली राष्ट्रको ध्यानाकर्षण गर्न सफल भएको पनि उल्लेख गरे ।

उनले कार्यकालमा सुस्त मनःस्थिति भएका छात्रछात्राहरूलाई विशेष शिक्षा तथा तालिमको अलावा कृषिमा आधारित पशुपालन कार्यक्रममा प्रोत्साहित गर्न थालिएको टेवा कार्यक्रमलाई एशियाली स्रोत केन्द्र जापानले काओ? स्टार राफ्ट अवार्ड प्रदान गरेको थियो ।

२०४० सालमा स्थापित सुस्त मनःस्थिति कल्याण संघले देशका २६ जिल्लाहरूमा ३७ वटा विशेष विद्यालय, श्रोत केन्द्र, जनचेतना, सीप तथा आयमूलक व्यवसायिक कार्यक्रम, तालिम र पारिवारिक परामर्श केन्द्रमार्फत झण्डै १० हजार ५ सय जना बौद्धिक अपांगता भएका व्यक्तिहरूलाई सेवा पु¥र्याउँदै आएको छ ।

आयोडिनको कमी, अस्वस्थ्य बच्चाको जन्म, कुपोषण, चोटपटक, अज्ञानता र गरिबीका कारण नेपालका सुस्तमनस्थिति, बौद्धिक अपाङ्गता देखा परेको बताइन्छ ।

शनिवार भएको केन्द्रीय सभाले हाल भैरहेको जनगणनामा बौद्धिक अपांगता भएका नागरिकहरूको यथार्थ विवरण संकलन गर्न सरकारसँग अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

शनिवार भएको केन्द्रीय सभाको उद्घाटन राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटा र बौद्धिक अपाङ्ग सिम्रिका लामाले संयुक्त रूपमा गरेका थिए ।आफ्नो समुद्घाटन मन्तव्यमा प्रमुख अतिथि देवकोटाले बौद्धिक अपांगता भएका नागरिकहरूको कल्याण गर्ने संस्थाहरूलाई सरकारले नै नियमित बजेट बिनियोजन गरी सहयोग गर्न आवश्यक भएको बताए ।

उनले बौद्धिक अपांगता भएका व्यक्तिहरूले परिवारबाट पाउने पैतृक सम्पत्ति पनि ट्रष्ट बनाएर राखी तिनको कल्याणमा लगाउनु उचित हुने बताए । उनीहरूको अंश अन्य दाजुभाइबाट सुरक्षित गरी संबन्धित व्यक्तिले नै उपयोग र उपभोग गर्ने अवस्था सिर्जना गर्न पनि आवश्यक भएको बताए । संस्थाको केन्द्रीय सभाले महासचिवको प्रतिवेदन र भावि कार्यक्रमसमेत पारित गरेको छ ।