देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रदेश २ मा पदकसम्बन्धी विधेयक प्रमाणीकरण

देशान्तर

जनकपुर । प्रदेश नं २ सरकारले बनाएको पदकसम्बन्धी विधेयक प्रदेश प्रमुखद्वारा मङ्गलबार प्रमाणीकरण गरिएको छ ।

प्रदेशमा विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिलाई सम्मान गर्ने उद्देश्यले निर्माण गरिएको पदकसम्बन्धी विधेयक प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रमाणीकरण गरेका हुन् ।

यसअघि २०७७ २६ असोजमा पारित भएको उक्त विधेयक प्रमाणीकरणका लागि तत्कालीन प्रदेश प्रमुख डा राजेश झा अहिराजसमक्ष प्रस्तुत गरिँदा उनले केही सुझाव दिँदै विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएका थिए । झाले प्रदेशमा रहेका प्रदेश बाहिरका स्वदेशी र विदेशीलाई समेत प्रदेश पदकबाट सम्मान गर्न सक्ने व्यवस्था थप गर्न सुझाव दिएका थिए ।

विधेयकमा विभिन्न १५ विधामा पदक प्रदान गर्ने व्यवस्था गरिएको छ । प्रदेश रत्न, मुख्यमन्त्री प्रज्वल तारा, रमेश महतो पदक, प्रदेश जनसेवा पदक, प्रदेश समाज सेवा श्री, प्रदेश मेधावी पदक, प्रदेश किसान रत्न पदक, प्रदेश विद्याभूषण र प्रदेश सेवा उत्कृष्ट पदक राखिएको छ ।

यस्तै प्रदेश शैक्षिक उत्कृष्ट पदक, प्रदेश गौरव पदक, प्रदेश विभूति पदक, प्रदेश सुरवीर पदक, पर्यटन शिखर पदक र सामाजिक अभियन्ता पदकको समेत व्यवस्था गरिएको छ ।