देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तीन दलको प्रस्तावमा मोर्चाले आज जवाफ दिने

देशान्तर

काठमाडौं । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको ११ बुँदे मागमाथि साझा धारणा बनाउन संविधान निर्माण गर्ने प्रमुख तीन दलले कार्यदलको प्रस्ताव गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ भएको नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीले सो कार्यदलमा रहने सदस्यको नाम प्रस्ताव गर्दै मधेसी मोर्चाबाट पनि नाम माग गरेका छन्।

बैठकमा मोर्चाका नेता तथा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले गठबन्धनभित्रका अन्य दलसँग परामर्श गरी कार्यदलमा प्रतिनिधि पठाउने वा नपठाउने भन्नेबारे सोमबार जानकारी गराउने बताएका छन्। सद्भावना पार्टीले बहिष्कार गरेको बैठकमा गठबन्धनभित्रका दलको ठाकुरबाहेक अन्य अध्यक्ष उपस्थित थिएनन्। संघीय समाजवादी फोरम नेपालका उपेन्द्र यादव बुटवल र तराई मधेस सद्भावना पार्टीका महेन्द्र यादव विराटनगरमा छन्।

कार्यदलमा कांग्रेसबाट केन्द्रीय सदस्य महेश आचार्य, नेकपा एमालेबाट उपाध्यक्ष भीम रावल र एकीकृत नेकपा माओवादीबाट महासचिव कृष्णबहादुर महरा छन्। तीन दलले आन्दोलन रोक्न आग्रह गरेपछि मोर्चाले आफ्नो ११ बुँदे मागमाथि धारणा माग गरेको थियो। त्यसपछि बैठकमा तीन दलका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यदल निर्माणको प्रस्ताव गरेका थिए। मोर्चासँगको बैठकअघि प्रमुख तीन दलले छुट्टै छलफल गरेका थिए। नागरिक दैनिकमा समाचार छ । 

]]>