काठमाडौं– व्यस्त शहर न्यूरोड, असनलगायत शहरमा भाइमसला किन्नेहरुको चहलपहल बढेको छ।
भाइटीकाको दिन चेलीबेटीले आफ्ना दाजुभाईलाई भाइ मसला दिने गर्दछन्। दाजुभाईलाई सप्तरंगी टीका र माला लगाइदिइसकेपछि चेलिबेटीले भाइमसला लगायतका मिठामिठा परिकार दिने प्रचलन रहेको छ।
भाइमसलामा नरिवल, मिश्री, काजु, किसमिस, ओखर, देशी बदाम, सुकुमेल, पेस्ता, ल्वाङ, मख्खन, छोकडा, सुपारी, मरिच लगायत राख्ने गरिन्छ। यी मसलाहरु किनमेल गर्न सुरु भइसकेका छन्। भाइमसला केवल मसला व्यापारीले मात्रै होइन, किराना पसलेहरूले पनि बिक्री गरिरहेका छन्।
न्यूरोड, असन लगायतका सडक पेटीहरुमा भाइमसला किन्नेको भीड लागेको देख्न सकिन्छ। समग्रमा विगत दुई दिनयता भाइ मसला किन्नेहरुको भीड बढे पनि असनमा भने अघिल्लो वर्षको तुलनामा व्यापार कम नै भएको मसला व्यापारी सजिव बज्राचार्य बताउछन्।
भाइ मसला प्रायः विदेशबाट आउने र नेपाली उत्पादन कम नै हुने उनी बताउछन्। भाइ मसला पनि विभिन्न गुणस्तरको आउने उल्लेख गर्दै उनले स्वस्थ मसला किन्न सुझाव दिए।
सडक पेटीहरुमा सानादेखि, ठूलासम्मका प्याकेट बनाएर बेचविखन भइरहेको पनि देख्न सकिन्छ। हरेक सामान किन्न हरेक पसल पुग्नुपर्ने झन्झटबाट मुक्त हुन उपभोक्ताहरु सबै सामग्री मिसिएको रेडिमेट प्याकेटमै आकर्षित भएका छन्





प्रतिक्रिया