
काठमाडौं– प्रदेश २ को राजधानी जनकपुरधामसहित मिथिला क्षेत्रमा शनिबार भातृद्वितीया ‘भैयादुज’
पर्व मनाइएको छ ।
दिदीबहिनी र दाजुभाइको मायाको प्रतीकको रुपमा मनाइने यो पर्वलाई भरदुतिया पर्वसमेत भन्ने गरिन्छ ।
मिथिला समाजमा भातृद्वितीया पर्वको आफ्नै महत्व छ । यो दिन दाजुभाइ आफ्ना दिदीबहिनीकहाँ गई न्यौत वा नाता लिने गर्छन् । दाजुभाइ दिदीबहिनीको घर जाने क्रममा मिठाई, फलफूल र लुगा लिएर जाने चलन छ ।
दिदीबहिनीले दाजुभाइलाई टीका र माला लगाइदिँदै न्यौत लिने गर्छन् । यो न्यौत लिनका लागि दिदीबहिनीको घरको आँगनमा विशेष किसिमको चित्र कोर्ने गरिन्छ । जसलाई चौका भन्ने भनिन्छ । चौकाको एकातिर पिंढी राख्ने गरिन्छ । जुन पिंडीमा दाजुभाइलाई बसाउने गरिन्छ ।
पिंढीमा बसाएपछि दिदीबहिनीले दाजुभाइको हातमा चामलबाट बनाइएको पिठार लगाइदिन्छन् । लगाइएको पिठारमाथि पान र सुपाडी दिँदै पानी हालेर आफ्ना दाजुभाइको हात समातेर उठाउने चलन रहेकोक छ । दिदी भए भाइले र बहिनी भए दाजुको खुट्टामा ढोंगेर आशीर्वाद लिने चलन पनि रहेको छ ।
यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई मीठा–मीठा परिकार बनाएर खुवाउने चलन पनि रहेको छ ।
गत वर्ष कोरोना कहरका कारण भ्रातृद्वितीया पर्वमा धेरै दाजुभाइ आफ्नो दिदीबहिनीकहाँ जान नपाएका कारण वर्ष यो पर्व भव्यतापूर्वक मनाइएको छ ।





प्रतिक्रिया