देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जनसंख्याका आधारमा निर्वाचन क्षेत्र अनुपयुक्त– प्रधानमन्त्री ओली

देशान्तर

दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसवादी दलले उठाउँदै आएको जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र सन्तुलित नहुने बताएका छन् ।

उनले नेपालको भौगोलिक बनावटका कारणले पनि जनसङ्ख्यालाई मात्र निर्वाचन क्षेत्रको आधार बनाउन नसकिने दाबी गरे । उनले भने– “हिमाल, पहाड र तराईसहितका क्षेत्रमा समान जनसङ्ख्या छैनन्, यसले गर्दा पनि जनसङ्ख्याका आधारमा उपयुक्त हुँदैन ।”

आज झापाको दमकमा नेकपा (एमाले) मेची अञ्चलले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रम ओलीले मधेसवादी दलले उठाउँदै आएको मागलाई वार्ताबाट समाधान खोज्न सकिने बताए । उनीहरुको आन्दोलनले छिट्टै निकास पाउने प्रम ओलीको भनाइ थियो ।

उनले मुलुकमा उत्पन्न समस्या समाधान गर्न नेकपा (एमाले) सरकारको नेतृत्वमा समेत रहेकाले यसका लागि सरकारले पहल गरिआएको बताए । मुलुकमा देखिएका विभिन्न आन्दोलन तथा जात, धर्मजस्ता पहिचानका नामले देशलाई विखण्डन गर्न खोजिँदै गएको बताए ।

त्यस अवसरमा कानुन तथा संसदीय व्यवस्थामन्त्री अग्नि खरेलले नाका ढुकेर मधेसवादी दलका नेताले देशलाई सङ्कटमा पुर्याएको बताए । उनले नाका खोलेर संवाद खोजिए मधेसवादीले उठाएका माग सम्बोधन गर्न सरकार खुकुलो हुने बताए ।

दुईदिने प्रशिक्षणमा मेची अञ्चलका पाँचसय भन्दा बढी अगुवा कार्यकर्ता सहभागी रहेका छन् । प्रशिक्षण उद्घाटनमा पार्टीका महासचिव ईश्वर पोख्रेल, सचिवद्वय भीम आचार्य, योगेश भट्टराई तथा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्बाङलगायतको उपस्थिति थियो ।

]]>