कपिलवस्तु – कपिलवस्तुको बाणगंगा नगरपालिका–७ र अर्खाखाँचीको सन्धिखर्क १३२र३३र११ केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ ।
कपिलवस्तुको मोतीपुर र अर्घाखाँचीको सन्धिखर्क सबस्टेसन क्रमशस् आगामी १५ मंसिर र १५ पुसभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
बुर्तिवाङ–पाउदी अमराई–तम्घास–सन्धिखर्क गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गत मोतीपुर र सन्धिखर्क सबस्टेसनमा निर्माण भइरहेको छ । सबस्टेसनमा ३० र १६ एमभीएका पावर ट्रान्सफर्मरहरु रहने छन् । सबस्टेसनका सम्पूर्ण उपकरणहरको जडान सम्पन्न गरी परीक्षण भइरहेको छ ।
पूर्व–पश्चिम १३२ केभी लाइनलाई ८ वटा टावर निर्माण गरी मोतीपुर सबस्टेसनमा लगिने छ । यसका लागि टावर निर्माण गरिसकिएको छ भने तार तान्ने काम भइरहेको प्राधिकरणले जनाएको छ । आयोजना अन्तर्गतको मोतीपुर–सन्धिखर्क खण्डको प्रसारणलाइनमा पर्ने १०६ वटा टावरको जग हालिएको छ । ८७ वटा टावर खडा गरिएको छ भने १२ किलोमिटर तार टांगिएको छ ।
यस खण्डको प्रसारण लाइनको लम्बाइ ६८ किलोमिटर छ । प्रसारण लाइनको निर्माण अगामी १५ पुसभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ । मोतीपुर–सन्धीखर्क प्रसारण लाइन र सबस्टेसनहरुको निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि त्यहाँबाटै स्थानीय क्षेत्रमा विद्युत आपूर्ति गरिने छ । यसबाट कपिलवस्तु, अर्घार्खाची, पाल्पा, गुल्मी जिल्लाको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ । विद्युतको प्राविधिक चुहावट पनि कम हुने छ ।
अहिले बुटवलबाट ३३ केभी प्रसारण लाइनमार्फत अर्घार्खाची, पाल्पा, गुल्मीमा विद्युत आपूर्ति हुँदै आएको छ । ३३ केभी प्रसारण लाइन धेरै लामो हुँदा लाइन ट्रिप भएर झ्याप्प–झ्याप्प वत्ति जाने र भोल्टेजको समस्या छ । साथै प्राविधिक चुहावट पनि छ ।





प्रतिक्रिया