
काठमाडौं-सरकारले बुधबारबाट नेपालमा विद्युतीय राहदानी (ई-पासपोर्ट) वितरण गर्न थालेको छ । राहदानी विभागको वेबसाइटमार्फत अनलाइन आवेदन भर्ने नागरिकले बुधबारदेखि नै ई-पासपोर्टको लागि औंठाछाप (बायोमेट्रिक) दिन जाने मिति र समय पाउन थालेको सरकारले जनाएको छ । करिब ७० लाख मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण गरेपछि सरकारले ई-पासपोर्ट वितरण थालेको हो ।
संस्कृतिविद् तथा शताब्दीपुरुष सत्यमोहन जोशीलाई सरकारले पहिलो ई-पासपोर्ट दिएको छ । मंगलबार आयोजित एक कार्यक्रममा जोशीलाई परराष्ट्रमन्त्री डा. नारायण खड्काले जोशीलाई पासपोर्ट वितरण गरेका थिए ।
सन् २०२० को डिसेम्बर २० मा राहदानी विभागले फ्रान्सको ‘आईडीईएमआईए आइडेन्टी एण्ड सेक्युरिटी’सँग ई-पासपोर्ट छपाइको लागि दुई अर्ब ४८ करोड रुपैयाँमा खरिद सम्झौता गरेको थियो ।
राहदानी विभागले त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनमा ई-पासपोर्ट छपाइ र वितरण थालेको छ । ई-पासपोर्ट वितरण थालेपनि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गर्न भने विभागले बन्द गरेको छैन ।
केही हप्ता सीमित संख्यामा मात्रै ई-पासपोर्ट वितरण गरेर एमआरपीको वितरण बन्द गर्ने योजना रहेको महानिर्देशक अर्याललले बताए ।
एमआरपी प्रणालीको तथ्यांक नयाँ प्रणालीमा सार्न र छपाइको काम प्रभावकारी बनाउन विभागले केही दिन दुवै खालका पासपोर्ट वितरण गर्ने तयारी गरेको उनले बताए । जिल्लामा पनि क्रमैसँग ई-पासपोर्टको बायोमट्रिक लिनेसहितका व्यवस्था गर्दै जाने विभागले बताएको छ ।





प्रतिक्रिया