दार्चुला – भारतीय प्रशासनले बाटो नदिएपछि जनगणनाका लागि खटिएको टोली जोखिम मोलेर नेपाली भूमि हुँदै दार्चुलाको छाङरु र तिङ्कर हिंडेको छ ।
दार्चुलाको ब्यास गाउँपालिका–१ छाङरु र तिङ्करको जनगणनाका लागि जाने गणकहरुलाई भारतले बाटो प्रयोग गर्न अनुमति नदिएपछि उनीहरु नेपाली भूमि हुँदै त्यसतर्फ गएको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिएका छन् । नेपाली भूमि हुँदै छाङरु र तिङ्कर पुग्न तीन दिन लाग्छ । भारतीय भूमि हुँदै भने एकै दिनमा पुगिन्छ ।
सजिलो बाटो र छिटो पुगिने भन्दै नेपालले भारतसँग बाटो प्रयोग गर्न अनुमति मागेको थियो । तर भारतीय प्रशासनले अनुमति नदिएपछि नेपाली टोली जोखिम मोलेरै नेपाली बाटो हुँदै त्यसतर्फ गएका हुन् । यसअघि भारतीय प्रशासनको बाटो प्रयोग गर्न अनुमति कुरेर गणकहरु दार्चुला सदरमुकाम खलङ्गामा रोकिएका थिए । खलङ्गाबाट नेपाली बाटो हुँदै छाङरु र तिङ्कर पुग्न सजिलो छैन । खलङ्गाबाट तिङ्कर र छाङरु पुग्ने बाटो बिग्रिएको र निकै जोखिमपूर्ण रहेको छ ।
जोखिमयुक्त क्षेत्रमा सशस्त्र प्रहरीसँग समन्वय गरेर बाटो पार गरिने केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिए । छाङरु र तिङ्करमा जनगणना गर्न पालिका र सुरक्षाकर्मीसँगै सीमा सुरक्षा बलसँग समन्वय गरिएको विभागले जनाएको छ । भारतले आफ्नो भूमिको बाटो प्रयोग गर्न नदिएकाले नेपाली भूमिकै जोखिमपूर्ण बाटो भएर शुक्रबार जनगणना टोली तिंकर र छाङरुका लागि
प्रस्थान गर्ने जनगणना कार्यालय (दार्चुला) का प्रमुख पदमराज पाण्डेले बताए । ‘भारतसँग अनुमति मागेका थियौं । तर, कहिले केही कहिले केही बहाना झिकेर गणकलाई जान भारतले अनुमति दिएन,’ उनले भने, ‘त्यसैले अब नेपाली बाटो नै प्रयोग गरेर जनगणनाका लागि टोली पठाउँदैछौं ।’
स्थानीयका अनुसार दार्चुला सदरमुकाम खलंगाबाट नेपाली बाटो भएर छाङरु र तिंकर पुग्न सजिलो भने छैन । खलंगाबाट तिंकर र छाङरु पुग्ने बाटो बिग्रिएको र निकै जोखिमपूर्ण रहेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले २५ कात्तिक र ३० कात्तिकमा जनगणनाका लागि गणक भारतीय बाटो भएर जाने भएकाले सहजीकरण गरिदिन धार्चुला प्रशासनलाई पत्राचार गरेको थियो । तर, भारतीय प्रशासनले भने बाटो बिग्रिएको बहाना झिक्दै अनुमति दिन आनाकानी गरेको छ ।
अन्य मानिसलाई ओहोरदोहोरका लागि अनुमति दिने गरेको भए पनि जनगणनामा अवरोध सृजना गर्न भारतीय पक्षले गणकलाई अनुमति नदिएको व्याँस गाउँपालिका–२ का एक स्थानीयले बताए ।





प्रतिक्रिया